जनकपुरधाम । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा आगामी मंसिर २६ र २७ गते बागमती प्रदेशमा आयोजना हुने भएको छ।
धनुषाको जनकपुरधाममा बसेको महासंघको पाँचौं पूर्ण बैठकले यस्तो निर्णय गरेको कोषध्यक्ष रामकृष्ण अधिकारीले बताए ।
बैठकले केन्द्रीय साधारण सभालाई व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले साधारण सभा गर्न बाँकी रहेका प्रदेश तथा जिल्ला शाखाहरूलाई निर्धारित समयभित्रै आफ्ना साधारण सभा सम्पन्न गर्न निर्देशन दिएको छ।
महासंघले केन्द्रीय साधारण सभा हुनुअघि नै सबै सम्बन्धित प्रदेश तथा जिल्ला शाखाको साधारण सभा सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको हो।
केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार अब साधारण सभा गर्न बाँकी रहेका शाखाहरूले मंसिर २६ र २७ गते हुने केन्द्रीय साधारण सभाअघि नै आफ्नो प्रक्रिया पूरा गर्नुपर्नेछ।
महासंघको केन्द्रीय साधारण सभामा संगठनका गतिविधि, भावी कार्ययोजना तथा पत्रकारितासँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया