पर्सा । पटेर्वा सुगौली गाउँपालिकामा आयोजित माध्यमिक विद्यालयस्तरीय छात्रामैत्री भलिबल प्रतियोगिताको उपाधि श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटाले जितेको छ।
फाइनल प्रतिस्पर्धामा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, रंगपुरलाई २ सेटमा पराजित गर्दै निचुटाले उपाधि आफ्नो पक्षमा पारेको हो।

दिव्य विकास स्रोत केन्द्र, पर्सा र एक्सनएड नेपालको संयुक्त साझेदारी तथा पटेर्वा सुगौली गाउँपालिकाको सहकार्यमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत प्रतियोगिता आयोजना गरिएको थियो।
प्रतियोगिताको पहिलो चरणमा निचुटाले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सुगौली दा.प. लाई २–० को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। त्यस्तै, दोस्रो चरणको खेलमा रंगपुरले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वालाई २–० को सेटमा हराउँदै फाइनल यात्रा तय गरेको थियो।

फाइनलमा निचुटा र रंगपुरबीच उपाधिका लागि प्रतिस्पर्धा भएको थियो। उक्त प्रतिस्पर्धामा रंगपुरलाई पछि पार्दै निचुटाले प्रतियोगिताको उपाधि उचाल्न सफल भयो। रंगपुर उपविजेतामा सीमित रह्यो।
दिव्य विकास स्रोत केन्द्र, पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरी प्रमुख अतिथि तथा उपाध्यक्ष ममता महतो विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा एक्सनएड नेपालका कार्यक्रम संयोजक प्रेम कुमार थारु, दिव्य विकास स्रोत केन्द्रकी कार्यक्रम संयोजक रीना चौधरी, वित्त तथा प्रशासन संयोजक श्यामकिशोर प्रसाद चौहानलगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूको उपस्थिति थियो।

प्रतियोगिताको मुख्य उद्देश्य छात्राहरूको खेलकुदप्रतिको रुचि, क्षमता र सहभागिता अभिवृद्धि गर्नुका साथै आत्मविश्वास, नेतृत्व क्षमता, अनुशासन र आपसी सहकार्यको भावना विकास गर्नु रहेको आयोजकले जनाएको छ।
विद्यालय तहमा छात्राहरूको समान सहभागिता सुनिश्चित गर्दै लैङ्गिक समानता र छात्रामैत्री वातावरण निर्माणमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको दिव्य विकास स्रोत केन्द्र, पर्साले जनाएको छ।

तपाईको प्रतिक्रिया