वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)पर्साभित्रको आन्तरिक गुटबन्दी सतहमा देखिन थालेको छ।
पार्टीका क्षेत्रीय समितिहरूले दशैँ, तिहार, छठ तथा नेपाल संवत्को अवसरमा आयोजना गरेका शुभकामना आदानप्रदान कार्यक्रममा जिल्लाका तीन जना सांसद नै अनुपस्थित भएपछि पार्टीभित्रको विवाद र शक्ति संघर्ष थप चर्चामा आएको छ।
पर्साका निर्वाचन क्षेत्र नम्बर २, ३ र ४ मा आयोजित छुट्टाछुट्टै कार्यक्रममा सम्बन्धित क्षेत्रबाट निर्वाचित सांसदहरू सहभागी भएनन्। क्षेत्र नम्बर २ का सांसद सुशील साह कानु, क्षेत्र नम्बर ३ का रामाकान्त चौरसिया र क्षेत्र नम्बर ४ का टेकबहादुर शाक्य कार्यक्रममा अनुपस्थित रहेका स्रोतले जनाएको छ।
प्राप्त जानकारीअनुसार, आफ्नै निर्वाचन क्षेत्रमा आयोजित पार्टीको कार्यक्रममा सांसदहरूले आफूलाई प्रमुख अतिथि बनाउनुपर्ने प्रस्ताव राखेका थिए।
तर, कार्यक्रम क्षेत्रीय समितिले आयोजना गरेकाले पार्टीको जिल्ला नेतृत्वलाई प्रमुख अतिथि बनाउने निर्णयबाट पछि नहट्ने अडान क्षेत्रीय समितिहरूले लिएका थिए। सांसदहरूको प्रस्ताव अस्वीकार भएपछि उनीहरू कार्यक्रममा सहभागी नभएको रास्वपा निकट स्रोतले जनाएको छ।
तीनवटै क्षेत्रीय समितिले पार्टीको संस्थागत निर्णय र संगठनात्मक मर्यादालाई प्राथमिकता दिँदै जिल्ला सभापति हरि पन्तलाई प्रमुख अतिथि बनाएर कार्यक्रम सम्पन्न गरेका थिए।
यस घटनाले रास्वपा पर्साभित्र जनप्रतिनिधि र पार्टी संगठनबीचको सम्बन्धमा देखिएको असमझदारीलाई उजागर गरेको छ। पार्टीको टिकट र संगठनको बलमा निर्वाचित भएका सांसदहरू पार्टीकै आधिकारिक कार्यक्रममा सहभागी नहुनुले उनीहरूको राजनीतिक प्राथमिकता र संगठनप्रतिको जवाफदेहितामाथि प्रश्न उठाएको छ।
सांसद हुनु भनेको पार्टी संगठनभन्दा माथि हुनु होइन। जनप्रतिनिधिको भूमिका जनताको आवाज संसद्मा उठाउनु मात्र नभई आफूलाई निर्वाचित गराउन सहयोग गर्ने पार्टी संगठनसँग समन्वय र सहकार्य गर्नु पनि हो।
पार्टीका क्षेत्रीय समितिले आयोजना गरेको शुभकामना आदानप्रदानजस्तो सामाजिक तथा संगठनात्मक कार्यक्रममा प्रमुख अतिथिको आसनलाई प्रतिष्ठाको विषय बनाएर अनुपस्थित हुनु राजनीतिक संस्कारका दृष्टिले उचित मान्न नसकिने राजनीतिक बिश्लेषकहरुको राय रहेको छ।
विशेषगरी, चाडपर्वको शुभकामना आदानप्रदानजस्तो सबै पक्षलाई जोड्ने कार्यक्रममा पद र आसनको विवादलाई प्राथमिकता दिनुले पार्टीभित्र सहकार्यभन्दा व्यक्तिगत प्रतिष्ठा र शक्ति प्रदर्शन हाबी हुँदै गएको संकेत गर्छ।
सांसदहरूले आफूलाई प्रमुख अतिथि नबनाइएको कारण कार्यक्रम नै बहिष्कार गरेको हो भने त्यो संगठनात्मक एकता र सामूहिक नेतृत्वको भावनाविपरीत देखिन्छ।
पार्टीको जिल्ला नेतृत्वलाई प्रमुख अतिथि बनाउने क्षेत्रीय समितिको निर्णयमा सांसदहरूको असहमति हुन सक्छ। तर, त्यसको समाधान संवाद र आपसी समझदारीबाट खोजिनुपर्नेमा कार्यक्रममा अनुपस्थित भएर असन्तुष्टि व्यक्त गर्नुले कार्यकर्ता र समर्थकमाझ गलत सन्देश प्रवाह गरेको छ।
रास्वपाले राजनीतिमा पुराना दलहरूको कार्यशैली, गुटबन्दी, व्यक्तिवाद र पदलोलुपताको विकल्प दिने दाबी गर्दै आएको छ। तर, आफ्नै पर्सा संगठनमा प्रमुख अतिथिको विषयलाई लिएर सांसद र क्षेत्रीय समितिबीच दूरी बढ्नुले पार्टीको दाबी र व्यवहारबीचको अन्तरलाई देखाएको छ।
जनताले सांसदलाई व्यक्तिगत प्रतिष्ठा प्रदर्शन गर्न होइन, जनताको आवाज उठाउन र पार्टीको संगठनलाई बलियो बनाउन जिम्मेवारी दिएका हुन्। त्यसैले पार्टीको मञ्चमा कसलाई प्रमुख अतिथि बनाइयो भन्नेभन्दा पनि पार्टीको उद्देश्य, संगठनको एकता र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिनु उनीहरूको राजनीतिक जिम्मेवारी हो।
क्षेत्रीय समितिहरुले संस्थागत रुपमा निर्णय गरेर आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि कसलाई बनाउने भन्नेमा निर्णय गर्न ति समितिहरु सार्वभौम रहेको पार्टीका पर्सा सभापति हरिपन्तको भनाई छ ।
पर्सा क्षेत्र नं २ का प्रतिनिधि सभाका सदस्य सुशिल साहले पनि प्रमुख अतिथि कसलाई बनाउने भन्ने कुरा पार्टीले निर्णय गर्ने कुरा भएको बताए ।
उनले आफनो क्षेत्रमा भएको कार्यक्रममा आफू बिसन्चो भएकोले आउन नसक्ने पहिला नै जानकारी गराएको बताए । उनले बिरामी भएकोले कार्यक्रममा आफू नगएको र अन्य कुनै कारण नरहेको बताए ।
तपाईको प्रतिक्रिया