सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सिमरा भेट्रान क्लबले शनिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा नेपाल र भारतका आठ महिला टोलीको सहभागिता रहने जानकारी दिएको हो। प्रतियोगिता सिमरा रंगशालामा रात्री समयमा सञ्चालन हुनेछ।

प्रतियोगितामा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, फेयर फुटबल क्लब धरान, बसन्तपुर युनाइटेड चितवन, दार्जिलिङको कुर्सेङ गोल्स फुटबल क्लब, झारखण्ड स्टेट स्पोर्टस् प्रमोशन सोसाइटी र आयोजक सिमरा भेट्रान क्लब सहभागी हुनेछन्।
प्रतियोगिताको विजेताले ५ लाख ११ हजार १ सय ११ तथा उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीलाई १ लाख तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको मुख्य सहयोगी जीतपुरसिमरा उपमहानगरपालिका तथा मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक्स रहेको छ। एपीएफ प्रतियोगिताको साविक विजेता हो।
आयोजकका अनुसार पहिलो चार खेलको टिकट ५०, सेमिफाइनलको १०० र फाइनलको २०० रुपैयाँ निर्धारण गरिएको छ। टिकट बिक्रीबाट प्राप्त रकमको १० प्रतिशत रसुवा बाढी प्रभावितको पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले प्रतियोगितालाई महिला सशक्तीकरण र उपमहानगरको गौरवसँग जोडेर हेर्नुपर्ने बताए।
वडा नम्बर १४ की अध्यक्ष चयन गुरुङले प्रतियोगिताले महिला खेलाडीको आत्मबल तथा शारीरिक–मानसिक स्वास्थ्य विकासमा सकारात्मक योगदान पुर्याउने धारणा राखिन्।
तपाईको प्रतिक्रिया