सिमरा। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको वर्षौंदेखिको जग्गा प्राप्ति गर्ने सपना साकार पार्ने दिशामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ ले महत्वपूर्ण प्रक्रिया अघि बढाएको छ।
वडा नं. १४ का भूमिहीन नागरिकहरूको जग्गा प्राप्तिसम्बन्धी कार्यलाई अगाडि बढाउने क्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको गत असोज १९ गते बसेको ७१औँ कार्यपालिका बैठकबाट स्वीकृत विवरणअनुसार थप आवश्यक प्रक्रिया तथा नापजाँचका लागि जिल्ला भूमि समस्या समाधान समितिमा सिफारिससहित विवरण पठाइएको हो।
वडा नं. १४ अध्यक्ष चयन मगरका अनुसार जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाइएका नागरिकमध्ये भूमिहीन दलित १४ जना, भूमिहीन सुकुम्बासी १३६ जना र अव्यवस्थित बसोबासी ४२९ जना रहेका छन्।
यसरी कुल ५७९ जना नागरिकको विवरण सम्बन्धित निकायमा पठाइएको उनले बताइन।
यो संख्या केवल तथ्याङ्कमा सीमित छैन। आफ्नै नाममा जग्गा, सुरक्षित आवास र सम्मानजनक जीवनको आशा बोकेका सयौँ नागरिकको भविष्यसँग जोडिएको विषय हो।
वर्षौंदेखि जग्गा प्राप्तिको प्रतीक्षामा रहेका नागरिकका लागि पछिल्लो प्रक्रियाले आशा जगाएको उनले बताइन।
वडा तहबाट सम्पन्न गर्नुपर्ने प्रक्रिया अघि बढाउँदै आवश्यक विवरण सम्बन्धित निकायमा पठाइसकिएको अवस्थामा अब बाँकी प्रक्रिया पूरा गरी जग्गा प्राप्तिसम्बन्धी कार्यलाई निष्कर्षमा पुर्याउन जिल्ला भूमि समस्या समाधान समिति, सम्बन्धित निकाय तथा नेपाल सरकारको भूमिका महत्वपूर्ण हुने देखिन्छ।
५७९ नागरिकको जग्गा प्राप्तिको सपना कहिले साकार हुन्छ भन्ने विषय अब आगामी प्रक्रियाको प्रभावकारी कार्यान्वयनमा निर्भर रहनेछ।
सम्बन्धित निकायले आवश्यक प्रक्रिया समयमै पूरा गरेमा वर्षौंदेखि जग्गाको प्रतीक्षामा रहेका नागरिकलाई आफ्नो जग्गा प्राप्त गर्ने दिशामा थप सहजता हुने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया