वीरगञ्ज । प्रतिनिधिसभाका सभामुख डीपी अर्याल छठ पर्वको अवसरमा वीरगंज आउने भएका छन्।
सभामुख अर्यालले पर्सा, बारा र मकवानपुरमा स्थानीय जनप्रतिनिधि, नागरिक, उद्योगी व्यवसायी तथा विभिन्न समुदायका व्यक्तिहरूसँग भेटघाट गर्नुका साथै छठ पर्वका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ।
निर्धारित भ्रमण तालिकाअनुसार सभामुख अर्यालको कात्तिक २९ गते बिहान ९ः४५ देखि १०ः१५ बजेसम्म सिमरा–४ स्थित नवनिर्मित औराहा कृष्ण प्रणामी मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि बिहान १०ः३० देखि ११ः१५ बजेसम्म सिमरास्थित क्लासिक होटलमा आयोजित भेटघाट कार्यक्रममा सहभागी हुनेछन्।
त्यहाँबाट सभामुख अर्याल वीरगञ्ज आउनेछन्। दिउँसो १२ः३० बजे उद्योग वाणिज्य संघसँग भेटघाट गर्ने र १ः३० बजे अर्को भेटघाट कार्यक्रममा सहभागी हुने कार्यतालिका छ।
सभामुख अर्यालले वीरगञ्जसहित पर्साका विभिन्न स्थानमा आयोजना हुने छठघाट तथा महाआरती कार्यक्रममा समेत सहभागिता जनाउनेछन्।
उनको भ्रमण तालिकामा वीरगञ्जको घडिअर्वा पोखरी, नगवा पोखरी (वीरगञ्ज–१६), इटियाही सानो टोलस्थित धोबीघाट, तथा मुर्ली महाआरती कार्यक्रममा सहभागी हुने उल्लेख छ।
कात्तिक ३० गते बिहान ५ः३० बजे सभामुख अर्याल वीरगञ्जको रानीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिने कार्यक्रममा सहभागी हुनेछन्।
बिहान ७ बजे स्थानीयसँग भेटघाट गरेपछि उनी बिहान १० बजे रौतहट, सर्लाही, महोत्तरी तथा सिन्धुली हुँदै काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
छठ पर्वको अवसरमा सभामुखको यो भ्रमणलाई मधेशको धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिसँग जोडिएको कार्यक्रमका रूपमा हेरिएको छ।
भ्रमणका क्रममा स्थानीय तहका जनप्रतिनिधि, उद्योगी व्यवसायी तथा सर्वसाधारणसँगको भेटघाटले स्थानीय चासो र विषयहरू राख्ने अवसरसमेत प्रदान गर्नेछ।
तपाईको प्रतिक्रिया