वीरगञ्ज । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अहिले सुगौली सन्धियता कै गम्भीर राष्ट्रिय संकटबाट गुज्रिरहेको दाबी गरेका छन्।
पर्साको वीरगञ्जमा आयोजित पार्टी एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिलाई असाधारण भन्दै संविधान, गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारको रक्षाका लागि वामपन्थी तथा देशभक्त शक्तिहरू एकजुट हुनुपर्ने बताए।
उनले सडक, संसद् र आगामी निर्वाचनलाई राजनीतिक संघर्षका प्रमुख मोर्चाका रूपमा अघि बढाउनुपर्ने धारणा राखे।
प्रचण्डले वर्तमान सरकार विदेशी शक्ति केन्द्रको प्रभावमा चलेको आरोप लगाउँदै राजनीतिक निर्णय गर्ने अधिकार नेपाली जनताको हातबाट क्रमशः बाहिरिने जोखिम रहेको बताए।
‘सुगौली सन्धियता यति ठूलो राष्ट्रिय संकट कहिल्यै देखिएको थिएन,’ उनले भने, ‘देशमा प्रतिक्रान्तिको हावा चलाउने र जनताले प्राप्त गरेका अधिकार खोस्ने षड्यन्त्र भइरहेको छ।’
संविधान र गणतन्त्रको रक्षा अझै प्रमुख चुनौती रहेको उल्लेख गर्दै उनले विगतमा आफूहरूले यी उपलब्धि जोगाउन मध्यरातिसम्म संघर्ष गरेको स्मरण गरे। अहिले पनि मुलुकमा ‘खतराको घण्टी’ बजिरहेको उनको भनाइ थियो।
‘नयाँ’ राजनीतिको नाममा जे पनि स्वीकार गर्ने प्रवृत्ति
प्रचण्डले नयाँ राजनीतिक शक्ति र जनप्रतिनिधिप्रति जनताको धारणा सामाजिक सञ्जाल तथा प्रचारको प्रभावमा बदलिएको टिप्पणी गरे।
उनले ‘नयाँ’ भन्ने नाममा गरिएका सबै कामलाई राम्रो ठान्ने प्रवृत्ति बढेको दाबी गर्दै प्रधानमन्त्री बालेन शाहको भारतसम्बन्धी अभिव्यक्तिलाई समेत उदाहरणका रूपमा प्रस्तुत गरे।
नेपालले भारतको भूमि मिचेको आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको भन्ने अभिव्यक्तिमा समेत समर्थन र ताली आएको भन्दै उनले प्रश्न उठाए।
‘अहिले त्यो तथाकथित नयाँ भन्नेले जे गरे नि राम्रो भन्ने अवस्था आएको छ,’ उनले भने, ‘नेपालले पनि भारतका धेरै ठाउँमा भारतीय भूमि मिचेको रहेछ, म प्रधानमन्त्री भएपछि थाहा पाएँ भन्दा पनि हो भनेर ताली बजाइयो।’
उनले सरकारका निर्णयमा देखिएको विरोधाभासप्रति पनि टिप्पणी गरे। कर बढाउँदा ताली र कर फिर्ता लिँदा पनि ताली बजाउने प्रवृत्तिले राजनीतिक चेतनाको अवस्थामाथि प्रश्न उठाएको उनको भनाइ थियो।
‘कर बढाइयो भन्दा पनि ताली, कर बढाएको मिलेनछ फिर्ता लिइयो भन्दा फेरि ताली, के हो योरु’ उनले प्रश्न गरे।
सडक विस्तारमा विगतको निर्णयको प्रसंग
वीरगञ्ज–नारायणघाट सडक विस्तारका क्रममा घर भत्काउने विषय उठ्दा आफू प्रधानमन्त्री भएका बेला त्यसलाई रोक्ने प्रयास गरेको प्रचण्डले बताए।
उनले अहिले भने सडक विस्तार वा अन्य सरकारी कारबाहीका क्रममा घर भत्काइँदा त्यसप्रति विगतजस्तो राजनीतिक प्रतिरोध नदेखिएको टिप्पणी गरे।
‘यदि हामी कम्युनिस्टहरूको सरकार हुन्थ्यो, त्यहाँ एउटा घर भत्केको हुन्थ्यो भने तपाईँहरूले टायर बालेर जिन्दावाद र मुर्दावाद भन्दै हिँड्नुहुन्थ्यो,’ उनले भने, ‘अहिले त बडो हाइसन्चो, जतिसुकै भत्कियोस्। तपाईंहरूलाई आनन्द छ भने त हामीलाई के भयो।’
मधेसलाई पुनः राजनीतिक आन्दोलनमा जोडिन आग्रह
प्रचण्डले मधेसको राजनीतिक तथा ऐतिहासिक योगदानको चर्चा गर्दै वर्तमान परिस्थितिमा पनि मधेसका जनता संगठित हुनुपर्ने बताए।
उनका अनुसार २००७ सालको राणाविरोधी सशस्त्र संघर्ष, २०१२ सालको किसान विद्रोह तथा २०३६ सालका आन्दोलनमा मधेस क्षेत्रको महत्वपूर्ण भूमिका थियो।
‘मधेसका जनता क्रान्तिकारी आन्दोलनका उत्तराधिकारी हुन्,’ उनले भने, ‘अहिलेको निरंकुशता र सामाजिक अन्यायविरुद्ध फेरि एकपटक एकजुट भएर जाग्नुपर्ने समय आएको छ।’
उनले सामाजिक सञ्जालको प्रभावले राजनीतिक धारणा निर्माण गर्ने क्रम बढेको भन्दै आफ्नो पार्टी तथा विगतका सरकारले गरेका काम जनतामाझ प्रभावकारी रूपमा पुर्याउन नसक्दा भ्रम सिर्जना भएको बताए।
‘सोसल मिडियाको एल्गोरिदमले जनतालाई अफीमको नशाजस्तै बनाएको छ,’ प्रचण्डले भने, ‘हामीले गरेका जनपक्षीय काम, पूर्वाधार विकास र सामाजिक न्यायका मुद्दालाई जनतामाझ सही ढंगले लैजान नसक्दा भ्रम पैदा भएको हो।’
सरकारमाथि बल प्रयोग र करको भार बढाएको आरोप
प्रचण्डले वर्तमान सरकारले सुकुम्बासीमाथि बल प्रयोग गरेको, डोजर चलाएको तथा तराई–मधेसका साना व्यापारी र किसानमाथि करको भार बढाएको आरोप लगाए।
दुई तिहाइको राजनीतिक शक्तिका आधारमा सरकारमा आएपछि जनताका समस्या समाधान गर्नुभन्दा बल प्रयोग र दमनलाई प्राथमिकता दिइएको उनको दाबी थियो।
उनले विधि र प्रक्रिया मिचेर गिरफ्तारी गर्ने तथा नागरिकका लोकतान्त्रिक अधिकार सीमित गर्ने प्रयास भइरहेको आरोपसमेत लगाए।
माधव नेपाल , पर्सामा संगठन बलियो बनाउनुपर्छ
कार्यक्रममा पार्टीका सह–संयोजक माधवकुमार नेपालले पर्सालाई आर्थिक तथा रणनीतिक दृष्टिले महत्वपूर्ण जिल्ला भएको बताए।
भारतसँग जोडिएको प्रमुख व्यापारिक नाका, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं–तराई द्रुतमार्गसँग पर्साको प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्दै उनले जिल्लामा पार्टी संगठनलाई थप सुदृढ बनाउनुपर्ने बताए।
उनले क्रान्तिकारी विचार र नीतिप्रति प्रतिबद्ध, अनुशासित र गतिशील संगठन निर्माणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
महेन्द्र यादवद्वारा क्षेत्रीय राजनीतिप्रति पश्चाताप
मधेस प्रदेश इञ्चार्ज महेन्द्र यादवले लामो समय मधेसको क्षेत्रीय राजनीतिमा बिताएको उल्लेख गर्दै त्यसप्रति पश्चाताप व्यक्त गरे।
क्षेत्रीय राजनीतिमा करिब १८ वर्ष सक्रिय रहेको बताउँदै यादवले अब राष्ट्रिय राजनीतिको मूलधारमा कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउनुपर्ने बताए। नेपाली कम्युनिस्ट पार्टी नै नेपाली जनताको विकल्प भएको उनको दाबी थियो।
त्यस्तै, मधेसी मोर्चाका इञ्चार्ज तथा प्रतिनिधिसभा सदस्य मातृका प्रसाद यादवले जनयुद्ध, जनआन्दोलन, मधेसी, आदिवासी–जनजाति र थारूलगायत विभिन्न समुदायका आन्दोलनबाट वर्तमान राजनीतिक उपलब्धि प्राप्त भएको बताए।
उनले ती उपलब्धिको रक्षा तथा संस्थागत गर्न मधेसका जनतालाई कम्युनिस्ट विचार र राजनीतिक एजेन्डाबारे थप प्रशिक्षित गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा पार्टी एकता समायोजनसँगै नेता तथा कार्यकर्तालाई शपथ ग्रहण गराइएको थियो। प्रशिक्षणमा पार्टीको राजनीतिक विचार, संगठन विस्तार, आगामी राजनीतिक कार्यदिशा तथा वर्तमान परिस्थितिमा पार्टीको भूमिकाबारे छलफल गरिएको थियो।
नेकपा पर्साका संयोजक जयप्रकाश थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पर्साका इन्चार्ज मनोज चौधरीले गरेका थिए ।
तपाईको प्रतिक्रिया