पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।
उपकार सेवा नेपालले नेजामुद्दीन शमानीको पहलमा पोखरिया नगरपालिका–६ स्थित श्री दलित उत्थान प्राथमिक विद्यालय, सिर्सिया र वडा नं. ८ स्थित ने.रा.आधारभूत प्राथमिक विद्यालय, बैरिया बिर्ता, मननपुरलाई पाँच थान पंखा उपलब्ध गराएको हो।
आइतबार आयोजित कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, संरक्षक पद्मा देवी सरावगी, प्रधानाध्यापक विजय पटेल तथा समाजसेवी प्रकाश थारूको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक रामअयोध्या रौनियारलाई पंखा हस्तान्तरण गरिएको थियो।
पंखा हस्तान्तरणपछि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गर्मीका बेला कक्षाकोठामा बस्न तथा पढाइमा ध्यान केन्द्रित गर्न सहज हुने अपेक्षा गरिएको छ।
कार्यक्रमका समन्वयकर्ता तथा लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन समानीले विद्यार्थीका लागि अनुकूल सिकाइ वातावरण निर्माणमा सानो सहयोगले पनि महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उपकार सेवा नेपालले ‘मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने भावनाका साथ शिक्षा तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको जनाएको छ।
संस्थाले आगामी दिनमा पनि आवश्यकता पहिचान गरी सेवामूलक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
तपाईको प्रतिक्रिया