काठमाडौं । नेपाल पत्रकार महासंघले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा पत्रकारका परिवारलाई तत्काल राहत तथा आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सम्पर्कविहीन नयाँपत्रिका शाखाका सदस्य तथा महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी, भक्तपुर शाखाका पूर्वसल्लाहकार शेखर ढुंगाना र नुवाकोट शाखाका सदस्य राजकुमार नेपालीका परिवारलाई जनही एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने भएको छ।
त्यस्तै, परिवार तथा घरवाससमेत गुमाउनुभएका रसुवा शाखाका सदस्य निराजन पौडेललाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय महासंघले गरेको छ।
अन्य प्रभावित पत्रकार तथा सञ्चारमाध्यमका सम्बन्धमा भने सम्बन्धित जिल्ला शाखामार्फत प्राप्त हुने क्षतिको तथ्यांक र आवश्यकताको आधारमा मापदण्ड तयार गरी सोहीअनुसार राहत तथा सहयोग वितरण गरिने महासंघले जनाएको छ।
महासंघले विपद्का कारण प्रभावित पत्रकार तथा सञ्चारकर्मीलाई सहयोग गर्न चाहने सदस्यहरूलाई पत्रकार महासंघको विपत् कोषमा सहयोग रकम जम्मा गर्न समेत आग्रह गरेको छ।
महासंघले विपद्को यस कठिन समयमा प्रभावित पत्रकार तथा उनीहरूका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको जनाएको छ।
तपाईको प्रतिक्रिया