वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको नेतृत्वमा गएको संयुक्त अनुगमन टोलीले वीरगंजका विभिन्न उद्योग तथा व्यवसायिक प्रतिष्ठानमा अनुगमन गरेको हो।
अनुगमनका क्रममा वीरगंजस्थित महावीर एग्रो प्रोडक्ट प्रा.लि.मा आवश्यक कागजात तथा व्यवस्थापनसम्बन्धी कमजोरी देखिएको भन्दै ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। उद्योगलाई तीन दिनभित्र आवश्यक सम्पूर्ण कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशनसमेत दिइएको छ।
यसैवीच उपभोक्तालाई भ्रमपूर्ण विज्ञापनमार्फत वर्षौंदेखि ठगी गर्दै आएको आरोप लागेको वीरगञ्जस्थित महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई नियमनकारी निकायले जम्मा ५० हजार रुपैयाँ जरिवाना गरेर छाडेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले असन्तुष्टि जनाएको छ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालको लिखित उजुरीका आधारमा सोमबार गरिएको अनुगमनका क्रममा उद्योगमा कैफियत फेला परे पनि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को ९ङ० बमोजिम कारबाही नगरी सामान्य जरिवाना मात्र गरिएको मञ्चको आरोप छ।
मञ्चका अनुसार महावीर एग्रो प्रोडक्ट प्रालिले आफ्नो चामलको उत्पादनमा भ्रमपूर्ण विज्ञापन गरी उपभोक्तालाई झुक्यानमा पार्दै आएको छ।
यस्तो कार्यमाथि प्रभावकारी अनुसन्धान गरी कानुनबमोजिम कडा कारबाही गर्नुपर्नेमा न्यून जरिवाना गरेर उद्योगलाई उन्मुक्ति दिन खोजिएको भन्दै मञ्चले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मञ्चले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को {ङ} तथा विज्ञापन ९नियमन गर्ने ऐन, २०७६ बमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
साथै, भ्रमपूर्ण विज्ञापन गरिएका चामलको उत्पादन तथा बिक्री वितरण तत्काल रोक्न र देशभरका बजारमा पठाइएका त्यस्ता चामल फिर्ता गराउनुपर्नेमा जोड दिएको छ।
त्यसैगरी, वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित स्विट मार्ट फुड प्रा.लि.मा उत्पादन स्थलको सरसफाइ तथा फोहोर व्यवस्थापन सन्तोषजनक नभएको अनुगमन टोलीले जनाएको छ।
टोलीले उत्पादन स्थल तथा आसपासको क्षेत्रको सरसफाइमा सुधार गर्न निर्देशन दिँदै उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम २ लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ।
स्विट मार्ट फुड प्रालिलाई सरसफाइमा सुधार गरी १० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ।
अनुगमन टोलीले उपभोक्ताको स्वास्थ्य र खाद्यवस्तुको गुणस्तरलाई ध्यानमा राख्दै बजार तथा उद्योगहरूको अनुगमनलाई निरन्तरता दिने जनाएको छ।
अनुगमनका क्रममा देखिएका कमजोरी सुधार गर्न सम्बन्धित व्यवसायी तथा उद्योग सञ्चालकलाई आवश्यक निर्देशनसमेत दिइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी थापाको नेतृत्वमा भएको अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्की, रामप्रसाद लम्साल, श्रवणकुमार साह, उपभोक्ता हित संरक्षण मञ्चका प्रकाशकुमार साह तथा सञ्चारकर्मी अभिलाष गुप्तालगायत सहभागी थिए।
तपाईको प्रतिक्रिया