काठमाडौं । अरूको नागरिकता दुरुपयोग गरी कम्पनी र बैंक खाता खोल्ने तथा त्यसैमार्फत राजस्व ठगी गर्ने प्रवृत्ति बढेको भन्दै साँसद बुद्धी प्रसाद पन्तले सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले आफ्नो निर्वाचन क्षेत्रका विपन्न युवा पविन्द्र साह गोढ यसको शिकार भएको बताए।
उनका अनुसार सामान्य चिनजानका व्यक्तिले गोढको नागरिकता प्रयोग गरेर कम्पनी दर्ता गरेका थिए। कम्पनीको बैंक खाता पनि खोलिएको थियो। त्यसको पावर अफ अटर्नीसमेत उनीहरूले आफूसँग राखेका थिए।
पछि सोही कम्पनीमार्फत राजस्व छली भएको र त्यसको कानुनी जिम्मेवारी भने नागरिकता प्रयोग भएका गोढमाथि परेको सांसदको भनाइ छ।
राजस्व अनुसन्धान विभागले दायर गरेको मुद्दामा उच्च अदालत पाटनले गोढलाई तीन करोड रुपैयाँभन्दा बढी जरिवाना र छ महिनाको कैद सजाय सुनाएको उनले सदनमा जानकारी गराए।
तर सांसदका अनुसार गोढलाई आफ्नो नाममा कम्पनी खुलेको समेत जानकारी थिएन। बैंक खाता खोलिएको र त्यसबाट कारोबार भएको विषयमा पनि उनी अनभिज्ञ थिए। मुद्दा चलेको र पुनरावेदन गर्नुपर्ने प्रक्रियाबारे समेत उनलाई जानकारी नभएको सांसदको दाबी छ।
मुद्दामा तोकिएको म्यादसमेत गुज्रिएपछि प्रहरीले उनलाई पक्राउ गरी कारागार पठाएको सांसदले बताए।
“राजस्व छली त परको कुरा, आफ्नै नाममा कम्पनी र बैंक खाता खुलेकोसम्म उनलाई थाहा थिएन,” सांसदले सदनमा भने।
उनले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै नागरिकता दुरुपयोग गरेर यस्तै घटनामा फसाइएका करिब आधा दर्जन व्यक्ति रहेको दाबी गरे।
नागरिकताको दुरुपयोग गरी वास्तविक राजस्व ठगी गर्ने व्यक्तिलाई उन्मुक्ति दिने र कागजमा देखिएको व्यक्तिलाई मात्र कारबाही गर्ने अवस्था अन्त्य गर्नुपर्ने सांसदको माग छ।
उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै राजस्व ठगीका वास्तविक दोषी पहिचान गरी कारबाही गर्न र नागरिकता दुरुपयोगका कारण कानुनी फन्दामा परेका निर्दोष नागरिकलाई न्याय दिलाउन माग गरे।
यो घटनाले नागरिकताको सुरक्षा, कम्पनी दर्ता प्रक्रिया, बैंक खाता खोल्दा गरिने पहिचान परीक्षण र राजस्व अनुसन्धानको प्रक्रियामाथि समेत गम्भीर प्रश्न उठाएको छ।
तपाईको प्रतिक्रिया