वीरगन्ज । भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका वीरगन्जका नागरिकका परिवारलाई वरिगंज महानगर प्रमुख राजेशमान सिंहले भेटेका छन ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह शनिबार वीरगन्ज–२७ उदयपुरघुर्मीको कुहडी गाउँ पुगेर बेपत्ता नागरिकका परिवारलाईै भेटेका हुन।
नगर प्रमुख सिंहले बाढीमा परी बेपत्ता भएका दुई ट्रक चालकका परिवारसँग भेट गरी उनीहरूको अवस्था, खोजी कार्य र परिवारले भोगिरहेको समस्याबारे जानकारी लिएका हुन ।
गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि कुहडी गाउँका २९ वर्षीय सागर कर्ण र २८ वर्षीय मुन्ना अंसारी सम्पर्कविहीन छन्। दुवै जना ट्रक चालक रहेको र रसुवा भन्सारबाट सामान लिएर फर्कने क्रममा बाढीमा बेपत्ता भएको परिवारजनले बताएका छन्।
परिवारसँगको भेटमा नगर प्रमुख सिंहले विपद्को समयमा महानगरपालिका पीडित परिवारको साथमा रहेको बताउँदै आवश्यक सहयोग र समन्वयका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
भोटेकोशी बाढीमा वीरगन्जका विभिन्न वडाका नागरिक बेपत्ता भएपछि नगर प्रमुख सिंहले प्रभावित परिवारसँग प्रत्यक्ष भेटघाटलाई निरन्तरता दिँदै आएका छन । यसअघि उनले वीरगन्ज–२२ जगरनाथपुरस्थित एउटै टोलका बाढीमा बेपत्ता भएका ६ जनाका परिवार तथा वडा नम्बर ८ का प्रभावित परिवारसँग पनि भेट गरेका थिए ।
महानगरपालिकाले बाढीमा बेपत्ता नागरिकको अवस्थाबारे सम्बन्धित निकायसँग समन्वय गर्दै प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रयास भइरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया