काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल सिन्हाले औपचारिक रुपमा आजबाट बिदा लिएका छन । मन्त्रालयमा एक कार्यक्रमका वीच मन्त्री सिन्हाले बिदाई लिएका हुन ।
कार्यक्रममा मन्त्रालयका उच्च पदस्थ अधिकारी र कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
समारोहमा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले मन्त्रीको कार्यकालको समीक्षा प्रस्तुत गर्दै मंसीर २८ गतेदेखि हालसम्मको १०५ दिनमा भएका प्रमुख निर्णय तथा उपलब्धिहरूको विवरण सार्वजनिक गरे।
उनले छोटो अवधिमै नीति तथा संरचनागत सुधारका थुप्रै पहलहरू अघि बढाइएको उल्लेख गरे।
बिदाइ मन्तव्य राख्दै मन्त्री सिन्हाले कर्मचारीहरूलाई राष्ट्रको महत्वपूर्ण सम्पत्ति भन्दै विकासको प्रमुख आधारका रूपमा व्याख्या गरे।
उनले राजनीतिक नेतृत्वले कर्मचारीलाई सही दिशा दिन सकेमा मुलुकको समग्र विकासले गति लिने धारणा व्यक्त गरे।
साथै, आफ्नो कार्यकालमा हासिल भएका उपलब्धिहरू व्यक्तिगत नभई सामूहिक प्रयासको प्रतिफल भएको भन्दै सम्पूर्ण कर्मचारीप्रति आभार प्रकट गरे।
उनले कार्यपालिकासँगै न्यायपालिकाको अनुभव प्राप्त गरेको र राष्ट्रिय सभामा विधेयकसम्बन्धी छलफलमा सहभागी भई व्यवस्थापिकाको अभ्यास गर्ने अवसर समेत पाएको उल्लेख गरे।
तपाईको प्रतिक्रिया