वीरगन्ज । वीरगन्ज महानगरपालिका–१, छपकैयामा जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) बाट निर्वाचित सम्पूर्ण बोर्ड समिति आज नेपाली कांग्रेसमा प्रवेश गरेको छ ।
जसपा नेपालबाट निर्वाचित वडा अध्यक्ष मनोज राउत कुर्मी, वडा सदस्य दिपेन्द्र राउत, रमाउती देवी र प्रभु महतो कोइरी लगायतका जनप्रतिनिधिहरूले पार्टी परित्याग गरी कांग्रेसमा औपचारिक प्रवेश गरेका हुन्।
उनीहरूलाई पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अजयकुमार चौरसियाले स्वागत गर्दै पार्टीमा भित्र्याएका थिए। नवप्रवेशी जनप्रतिनिधिहरूले कांग्रेसको नीति, नेतृत्व र विकासप्रतिको दृष्टिकोणबाट प्रभावित भएर यस पार्टी रोजेको बताएका छन्।
उनीहरूले आगामी दिनमा वडा र क्षेत्रको समग्र विकासका लागि कांग्रेससँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
विशेषगरी, छपकैयाको वडा नम्बर–१ को निर्वाचित जनप्रतिनिधि नै कांग्रेसमा प्रवेश गर्नुले पर्सा क्षेत्र–२ मा कांग्रेसको मनोवललाई बढाएको छ।
यस प्रवेशले कांग्रेसको संगठनलाई थप सुदृढ बनाउने र मतदातामाझ सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। वीरगन्ज–१ मा देखिएको यो राजनीतिक ध्रुवीकरणले आगामी चुनावलाई अझ रोचक बनाउने निश्चित देखिन्छ।
तपाईको प्रतिक्रिया