वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं–२ की उम्मेदवार रिमा कुमारी यादवले मंगलबार चर्चित शक्तिपीठ कोइलाभार माईको मन्दीरमा पूजा अर्चाना गरि चुनावाी घरदैलो प्रारम्भ गरेकी छिन ।
चुनावी अभियानलाई थप गतिशील बनाउँदै उनले वडा–१ पशुपतीनगर, उत्तर मनवा कटानी, क्षतीवनटाँडी लगायतका टोलमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरिन्।
उनले घरदैलोमार्फत मतदातासँग शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा रोजगारीजस्ता विषयमा छलफल गरिन्।
घरदैलोका क्रममा स्थानीयले भादगाउँले टोपी, दुवोको माला र खादा ओढाएर स्वागत गरेका थिए। कतिपय स्थानमा महिलाहरूले टीका–अक्षता लगाइदिँदै शुभकामना व्यक्त गरेका थिए। मतदाताले दैनिक जीवनसँग जोडिएका समस्या तथा विकाससम्बन्धी अपेक्षा राखेका थिए।
उम्मेदवार यादवले आफू निर्वाचित भए पर्सागढी क्षेत्रमा आधारभूत पूर्वाधार सुदृढीकरण, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार, महिला तथा युवाका लागि सीपमूलक कार्यक्रम र रोजगारी सिर्जना, साथै कृषकका लागि सहज बजार व्यवस्थापनलाई प्राथमिकता दिने बताइन्। उनले पारदर्शी र उत्तरदायी नेतृत्वमार्फत जनविश्वास कायम राख्ने प्रतिबद्धता दोहोर्याइन्।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पर्सागढी नगर कमिटीका अध्यक्ष दुगाृ लामिछाने सहित स्थानीय नेता–कार्यकर्ता, युवा तथा महिला संगठनका प्रतिनिधि र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
पार्टी स्रोतका अनुसार पछिल्ला दिनहरूमा पर्साका विभिन्न गाउँ–टोलमा यादवको घरदैलो कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ।
चुनावी माहोल तातिँदै जाँदा पर्सा–२ मा उम्मेदवारहरूको प्रत्यक्ष जनसम्पर्क अभियानले प्रतिस्पर्धा थप रोचक बन्दै गएको देखिन्छ।
तपाईको प्रतिक्रिया