वीरगंज । जसपा नेपालको पर्सा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन परिचालनको कार्यालयको औपचारिक उद्घाटन सम्पन्न भएको छ।
उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा मधेश प्रदेशका प्रथम मुख्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका लालबाबु राउतले कार्यालयको उद्घाटन गरेका हुन।
कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार राम नरेश यादव लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । प्रमुख अतिथिसँगै उम्मेदवारहरुले पनि संयुक्त रूपमा निर्वाचन प्रचार कार्यालयको उद्घाटन गरेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै लालबाबु राउतले मधेशको अधिकार, पहिचान र समावेशी लोकतन्त्रका लागि प्रतिनिधि सभामा सक्षम र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको उल्लेख गरे।
उनले पर्सा जिल्लामा पार्टी संगठन सुदृढ हुँदै गएको बताउँदै जनताको विश्वास र समर्थनले जसपा नेपाललाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
त्यसैगरी उम्मेदवार अशोक टेमानीले आफू जनताको सेवा, सुशासन, विकास र मधेशी अधिकारका मुद्दामा दृढतापूर्वक आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे। उनले निर्वाचन क्षेत्र नं .२ का जनताले देखाएका आशा र अपेक्षालाई प्रतिनिधि सभामा पुरा गर्ने अठोट व्यक्त गरे।
कार्यकर्ता, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
तपाईको प्रतिक्रिया