काठमाडौँ । नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न–प्रतीक तथा राष्ट्रिय जनावरको अपमान हुने अभिव्यक्ति दिएको आरोप लगाउँदै बाँके क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गरिएको छ।
हिन्दू जागरण नेपालले आज निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै सुनारले दिएको अभिव्यक्तिले समाजमा भ्रम फैलाउने र सामाजिक सद्भावमा नकारात्मक असर पार्ने दाबी गरेको छ।
संगठनले राजनीतिक लाभका लागि राष्ट्रियतासँग जोडिएका संवेदनशील विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाउँदै सुनारको उम्मेदवारी खारेज गर्नसमेत माग गरेको छ।
ज्ञापनपत्रमा सुनारका अभिव्यक्तिले राष्ट्रको गरिमा कमजोर बनाउने तथा आम नागरिकमा भ्रम सिर्जना गर्ने काम गरेको उल्लेख गर्दै यस विषयमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिइएको छ।
यस्ता गतिविधिले निष्पक्ष र शान्तिपूर्ण निर्वाचन प्रक्रियामा नकारात्मक प्रभाव पार्ने भन्दै समयमै रोक लगाउनुपर्ने हिन्दू जागरण नेपालको भनाइ छ।
संगठनले प्रचलित कानुन तथा निर्वाचन आचारसंहिताअनुसार आवश्यक कारबाही गर्न निर्वाचन आयोगसँग आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया