ठोरी । जिराभवानी गाउँपालिकाको जीतपुरमा जनता समाजवादी पार्टी (जसपा) नेपालले क्षेत्र नं. ४ अन्तर्गतको चुनावी कार्यक्रमका रूपमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ।
उक्त भेलामा आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, मतदाता परिचालन र चुनावी रणनीतिबारे छलफल गरिएको बताइएको छ।
भेलामा पूर्व मुख्यमन्त्री लालबाबु राउत उम्मेदवार डा. कृपासुन्दर चौधरी, शशीकपुर मिया, मोहनलाल चौधरी,प्रदेश सभा सदस्य सिंगासन साह ,बीरेन्द्र यादव लगायतका स्थानीय नेता, अगुवा कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको बताइएको छ।
कार्यक्रमस्थलमा सहभागीहरूले “छाता छाप जिन्दाबाद, जिन्दाबाद” भन्ने नाराबाजी गर्दै पार्टीको चुनाव चिन्हप्रति समर्थन जनाएका छन्। नाराबाजीले वातावरण उत्साहपूर्ण बनेको प्रत्यक्षदर्शीहरूको भनाइ छ।
जसपा नेपालका स्थानीय नेताहरूले भेलालाई सम्बोधन गर्दै क्षेत्र नं. ४ मा पार्टीको जनाधार विस्तार हुँदै गएको दाबी गरेका छन्। उनीहरूले सामाजिक न्याय, समावेशिता र संघीयताको मुद्दामा जसपा नेपाल दृढ रहेको भन्दै कार्यकर्तालाई घर–घरमा पुगेर पार्टीका एजेन्डा पुर्याउन आग्रह गरेका छन्।
तपाईको प्रतिक्रिया