कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज गरिएको छ।
उनीविरुद्ध परेको उजुरीमाथि छानबिनपछि निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी अमान्य ठहर गरेको हो।
निर्वाचन अधिकृत देवराज भारतीद्वारा जारी निर्णय आदेशमा जन्मकैदको सजाय पाएका चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको भए पनि त्यसले अदालतको फैसलालाई बदर नगर्ने स्पष्ट गरिएको छ।
आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को उपदफा (१०) अनुसार राष्ट्रपतिबाट माफी पाएकै कारण अदालतको दोषसिद्धि खारेज नहुने कानुनी व्यवस्था रहेको उल्लेख छ।
साथै, निर्वाचन आयोगको मिति २०८०।११।२४ गतेको निर्णय अनुसार रेशमलाल चौधरी राजनीतिक दलको सदस्य बन्नसमेत अयोग्य ठहर भइसकेको भन्दै उनको उम्मेदवारी खारेज गरिएको निर्णयमा जनाइएको छ।
चौधरीविरुद्ध २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा मुख्य योजनाकारको आरोपमा मुद्दा दायर गरिएको थियो। कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ गते उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।
सजाय कार्यान्वयनका क्रममा उनी कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका थिए। पछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएपछि गणतन्त्र दिवसको अवसरमा २०८० जेठ १५ गते उनी रिहा भएका थिए।
संविधानको धारा २७६ तथा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ अनुसार उनलाई कैद माफी दिइएको थियो।


तपाईको प्रतिक्रिया