वीरगंज । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रजातन्त्र सेनानी महावीर प्रसाद शर्माको सोमवार ७८ वर्षको उमेरमा असामयिक निधन भएको छ।
नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय रहँदै आएका शर्मालाई पार्टीभित्र प्रजातन्त्र, लोकतान्त्रिक मूल्य–मान्यता र संगठन विस्तारमा योगदान पुर्याउने अग्रज नेताका रूपमा चिनिन्थ्यो। उनको निधनले पार्टी र लोकतान्त्रिक आन्दोलनलाई अपूरणीय क्षति पुगेको नेताहरूले बताएका छन्।
शर्माको निधनप्रति दुःख व्यक्त गर्दै संविधानसभा सदस्य एवं नेपाली कांग्रेस पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्यले गहिरो समवेदना प्रकट गरेका छन्।
अमात्यले विज्ञप्तिमार्फत दिवंगत शर्माको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनलाई भगवान श्री पशुपतिनाथले यो असहनीय पीडा सहन सक्ने शक्ति प्रदान गरून् भनी प्रार्थना गरेका छन्।
शर्माको निधनपछि कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली व्यक्त गर्दै उनको योगदानको स्मरण गरेका छन्।
तपाईको प्रतिक्रिया