तस्विरः ओमप्रकाश चौधरी
वीरगन्ज, ६ पुस। पर्साको जिराभवानी गाउँपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले आइतबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।
संघीय सरकारअन्तर्गत सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवाअनुसार कालिकामाई गाउँपालिकामा कार्यरत गिरीलाई जिराभवानी गाउँपालिकामा र राज कुशवाहालाई कालिकामाई गाउँपालिकामा सरुवा गरिएको थियो।
तर गाउँपालिका अध्यक्ष अनोज चौधरीले आफ्नो सहमति बिना सरुवा गरिएको भन्दै गिरीलाई हाजिर गर्न नदिने अडान लिएका थिए। यद्यपि, अध्यक्षको असन्तुष्टिका बाबजुद सबै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले गाउँपालिका कार्यालयमा गिरीको फुलमालासहित स्वागत गर्दै कार्यभार ग्रहण गराएका हुन्।

यसअघि गाउँकार्यपालिका बैठकले हाल कार्यरत प्रमुख प्रशासकीय अधिकृतले कामकाजमा बेवास्ता गरेको भन्दै सरुवाको माग गरेको थियो। सोही निर्णयका आधारमा मन्त्रालयले सरुवा गरेको जनाइएको छ।
गिरी यसअघि पनि जिराभवानी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहिसकेका छन्।
तपाईको प्रतिक्रिया