भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी तथा बैंक जमानत बुझाएर रिहा भएका छन्।
शुक्रबार भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा उक्त रकम बराबरको बैंक जमानत र धरौटी बुझाएपछि उनलाई रिहा गरिएको जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए।
यसअघि बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले रवि लामिछानेलाई शर्तसहित रिहा गर्न आदेश दिएको थियो। उक्त आदेशअनुसार उनले आफ्नो भागमा पर्ने बिगो बराबरको रकम बुझाएका हुन्।
अदालतमा दिएको निवेदनमा लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो बराबरको रकम बुझाउने उल्लेख गरेका थिए। उच्च अदालतले उक्त माग स्वीकार गर्दै उनलाई रिहा गर्न आदेश दिएको थियो।
यसअघि गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले पुर्पक्षका लागि एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। सो आदेशअनुसारको धरौटी रकम पनि उच्च अदालतको निर्देशनपछि बुझाइएको हो।
सूचना अधिकारी अर्यालका अनुसार लामिछानेले यसअघि बुझाएको दुई करोड ७४ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी शुक्रबार सनाखत गरेका थिए भने थप एक करोड रुपैयाँ नगद धरौटी बुझाएपछि उनी रिहा भएका हुन्।
यसरी फरक–फरक दुई धरौटी रकम गरी कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएर रवि लामिछाने रिहा भएका हुन्।
तपाईको प्रतिक्रिया