सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र आगामी निर्वाचन तयारीलाई समानान्तर रूपमा अघि बढाइने बताएका छन्।
नेपाल प्रेस युनियन सर्लाहीले आज सदरमुकाम मलङ्गवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले महाधिवेशनमा व्यस्त हुँदा निर्वाचन तयारी कमजोर नहोला कि भन्ने चिन्तालाई अब अन्त्य गरिएको बताए।
उनका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ अघि महाधिवेशन गर्ने–नगर्ने विषयमा केही समय बहस भए पनि अब छोटो समयमा महाधिवेशन सम्पन्न गरी पार्टीलाई निर्वाचनमा उर्जासहित उतार्ने निर्णय भइसकेको छ।
महामन्त्री थापाले फागुन २१ को निर्वाचनप्रति पूर्ण प्रतिबद्ध छौँ। संविधानमाथि थप क्षति नहोस् भन्ने विश्वासका साथ कांग्रेसले निर्वाचनको बाटो रोजेको बताए ।
उनले जेनजी आन्दोलनपछि फरार रहेका कैदीबन्दी, लुटिएका हतियार र सुरक्षासम्बन्धी चुनौतीबारे सरकारलाई अवगत गराइसकिएको बताए । चुनाव सुरक्षाका लागि महत्वपूर्ण हुने उनको भनाइ छ।
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार आह्वान गरेको सर्वदलीय बैठकमा पनि यस विषयमा जोड दिइएको उनले उल्लेख गरे।
थापाले आफू नयाँ नीति र सन्देशसहित सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गर्दै चाँडै नै देशव्यापी दौडाहाको तयारीमा रहेको जानकारी दिए। उनले आगामी निर्वाचनमा समेत काठमाडौँबाटै प्रतिस्पर्धा गर्ने कुरा स्पष्ट पारे।
तपाईको प्रतिक्रिया