जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा बनेको नयाँ सत्तासमिकरण अब अन्य प्रदेशहरूमा पनि देखिने दाबी गरेका छन्।
शनिबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय एकता सन्देश सभा लाई सम्बोधन गर्दै प्रचण्डले मधेश सरकार गठनका क्रममा “कथित पुराना समीकरणहरू भत्किएर” नयाँ राजनीतिक व्यवस्थापन उदाएको बताए।
उनका अनुसार गणतन्त्र स्थापना भएपछि पनि जनताको जीवनस्तरमा ठोस परिवर्तन नआएका कारण जेनजी आन्दोलन जन्मिएको त्यसले सबै राजनीतिक दललाई आत्मसमिक्षा गर्दै सुधारको बाटो तय गर्न बाध्य बनाएको छ।
प्रचण्डले आन्दोलनपछि व्यापक आत्मसमीक्षा र रूपान्तरणसहित विकासमा समर्पित हुन बृहत्तर एकता गरेको दाबी गरे। प्रचण्डले भने, “सबै जनताको एकताले मात्र प्रतिगमन र प्रतिक्रियावादी शक्तिलाई परास्त गर्न सकिन्छ, र यसको नेतृत्व नेकपाले नै गर्छ।
” उनले एमालेभित्र रहेका बामपन्थी–क्रान्तिकारी तथा अन्य कम्युनिस्ट दलहरूलाई पनि नेकपामा एकताबद्ध गर्ने लक्ष्य रहेको बताए। कार्यक्रममा सह–संयोजक माधवकुमार नेपालले युवाहरूबीच नेकपाप्रति आकर्षण तीव्र रूपमा बढेको बताए। उनका अनुसार हजारौँ युवाले पछिल्ला महिनाहरूमा पार्टी प्रवेश गरेका छन्।
नेपालले भ्रष्टाचार अन्त्य, सुशासन कायम र जेनजी आन्दोलनका जायज मागलाई अघि बढाउन पार्टीले निर्णायक भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे।
तपाईको प्रतिक्रिया