काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते बानेश्वरमा भएको घटनामा आफ्नो हात नभएको बताएका छन ।
बिहीबार भक्तपुरमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो घटनाको निष्पक्ष छानबिन गरी सार्वजनिक गर्न माग गरे ।
आफूले २३ गते साँझ नै सो घटना कसरी भयो भनेर छानबिन गर्ने आयोग बनाउने भनेको उनले स्मरण गराए । अहिलेको सरकारले छानबिन समिति बनाएको बताउँदै उनले त्यसले सत्य तथ्य सार्वजनिक गर्ने विश्वास व्यक्त गरे ।
‘कसरी त्यस्तो घटना भयो ? त्यसको लागि छानबिन गर्न आयोग बनेको छ, घटनाको निष्पक्ष छानबिन होला, त्यसमा म विश्वस्त छु’, उनले भने ।
२३ गते सुरक्षाको बारेमा आफूले बालुवाटारबाट पटक पटक जानकारी लिएको बताउँदै गोली हान्ने कुनै आदेश नदिएको बताए ।
‘बालुवाटारमा सोधेर बसिरहेको थिए, क्याजल्टि नहोस्, क्षति नहोस्, त्यही कामना गरेर बसिरहेको थिएँ, गोली चल्यो भनेको सुनेपछि, गोली कसरी चल्यो ? गोली चलाउने तहमा कसरी पुग्यो ? भनेर मैले सोधिरहेको छु, पछि मैले सुने १४ जनाको निधन भइसक्यो, कसरी मारिए १४ जना युवाहरू ? मैले खोजेको छु, मैले सोधेँ कसरी मरे युवाहरू कहाँ गोली लाग्यो ? टाउकोमा, छातीमा, अनि सुरक्षा फोर्सले त घुँडा मुनि हान्ने चलन हुन्छ घुँडा मुनि हानेको हुन्छ, कसरी टाउका टाउकामा गोली लाग्यो ? म सोध्दै छु–यस्तो किन भइराखेको छ ? कसरी रोक्न सकिन्छ यस कुरालाई ? म भन्दै छु, अनि म त्यसरी रक्तपात नहोस् देशमा भनेर भनेको भनेकै गर्ने, सोचेको सोचेकै गर्ने, अनि जसले त्यो उपद्रो मच्चाउँछ, उसले केपी ओली दोषी भनेको भनेकै गर्ने, बहुतै दुखद घटना घट्यो, वास्तवमा म स्तब्ध भएको छु, अत्यन्तै दुखित छु, यो कसरी भयो ?’, उनले भने ।
भदौ २३ गते क्षति भएपछि थप क्षति नहोस् भनि आफूले भदौ २४ गते बिहान साँढे ११ बजे नै राजीनामा दिएको बताए । आफूले राजीनामा दिएपछि देश जलाइएको उनले सुनाए । ‘जब मेरो हातमा केही पनि रहेन भन्ने थाहा पाए पछि राजीनामा दिएँ’, उनले भने ।
भदौ २३, र २४ गतेको घटनाको सत्य तथ्य पत्ता लगाउन आयोगको प्रतिवेदन पर्खनु पर्ने उनको भनाई छ ।
ओलीले जेनजीको नाममा केही युवालाई गुहराममा पारेर उद्योगहरूमा आगो लगाउने, सम्पदाहरू जलाउने, प्रहरी मार्ने र लुटपाट मच्चाउने काम भएको बताए ।
तर जेनजिका युवाबाट त्यो काम नभएको र हुन नसक्ने ओलीको भनाइ छ । देशमा आगो लगाउनेलाई ओलीको प्रश्न थियो–‘के खरानी माथि बसेर सुखी हुन सक्नुहुन्छ तपाईँ भविष्यमा ?’
नेपालको नयाँ पुस्ताले सिंहदरबार, संसद्, अदालत, होटेल, उद्योगमा आगो लगाउनै नसक्ने उनले दाबी गरे । जेनजी यस दोषबाट मुक्त हुनु पर्नेमा उनले जोड दिए ।
जेनजी आन्दोलनको नाममा प्रहरीको ब्यारिकेट तोड्ने काम गरिएको उनले बताए । प्रहरीको ब्यारिकेट तोडिने बित्तिकै जेनजीले आन्दोलनकारीलाई घर फर्कन आग्रह गरेको भन्दै उनले भदौ २३ गते बानेश्वरको घटनामा जेनजीको हात नभएको स्पष्ट पारे । केही युवालाई घेरा हालेर बानेश्वर लगी घटना घटाइएको ओलीको भनाइ छ ।
उनले नयाँ परिवेशमा सम्पूर्ण राजनीतिक दल, नागरिक संस्था र नागरिकलाई राष्ट्र र राष्ट्रियताको पक्षमा उभिन आग्रह गरे । संवैधानिक, कानुनी र लोकतान्त्रिक बाटोबाट समस्याको समाधान खोजिन पर्ने बताए ।
उनले राष्ट्रलाई जोगाउन यतिबेला राष्ट्रिय एकता आवश्यक रहेको बताए । बसेर छलफल गरी समस्याको समाधान खोज्नु पर्ने उनको धारणा छ ।
अहिले प्रहरीका हतियार र गोली खोसिएको, ६ हजार भन्दा बढी मुद्दाका कैदी बन्दीहरू जेलबाट फरार गराइएको ओलीले बताए । अहिले समाजलाई अतंकित बनाउने काम गरिएको ओलीको भनाइ छ ।
उनले कैदी बन्दिलाई जेल फर्कन र प्रहरीका खोसिएका हतियार फिर्ता गर्न पनि आग्रह गरेका छन । ‘समाजमा कानुका राज र थिति बसाउन सबैमा म आह्वान गर्दछु’, उनले भने ।
ओलीले एमालेका नेता कार्यकर्ताको घर छानिछानी आगो लगाइएको बताउँदै उनले एमालेजन र सिङ्गो देशवासीलाई हरेस नखान आग्रह गरे । राष्ट्र जोगाउन र राष्ट्रलाई समृद्धिको बाटोमा लैजान सबैलाई रिसराग त्याग्न पनि उनले आह्वान गरे।
तपाईको प्रतिक्रिया