बीरगंज। सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले सामाजिक संजालमा स्टाटस लेख्दै नागरिकसंग माफी माँगेका छन ।
देश र जनताप्रति आफूलाई अझ जिम्मेवार बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै उनले आफ्ना कमी–कमजोरी, त्रुटि वा निर्णयबाट नागरिकको मन दुखेको भए हृदयदेखि नै क्षमायाचना गरेका छन्।
उनले देश र जनतासँग क्षमाप्रार्थी रहेको उल्लेख गर्दै जनताको विश्वास, भावना र अपेक्षाप्रति आफू सधैँ जवाफदेही रहने बताएका छन्।
“मबाट भएका कमी–कमजोरी, त्रुटि वा निर्णयका कारण कसैको मन दुखेको भए म हृदयदेखि नै क्षमा चाहन्छु,” उनले भावुकता पूर्वक लेखेका छन ।
उनले कठिन परिस्थितिबाट आफूले धेरै कुरा सिकेको उल्लेख गर्दै आगामी दिनमा आफ्ना कमजोरी सुधार्दै अझ जिम्मेवार भएर देश, समाज र जनताको हितमा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैबीच, दुःखद घडीमा आफूलाई साथ, सहयोग र हौसला प्रदान गर्ने इष्टमित्र तथा शुभेच्छुकहरूप्रति उनले हार्दिक आभार व्यक्त गरेका छन्।
“यस दुःखद घडीमा मलाई साथ र सहयोग गर्ने मेरा इष्टमित्र तथा सम्पूर्णमा हार्दिक नमन र धन्यवाद गर्दछु,” उनले भनेका छन्।
उनको अभिव्यक्तिमा पछिल्लो परिस्थितिप्रति आत्मसमीक्षा, जनताप्रतिको जवाफदेहिता र आगामी दिनमा सुधारसहित अघि बढ्ने दृढता झल्किएको छ।
उनले अन्त्यमा “देश र जनता सर्वोपरि” भन्ने भावनालाई आफ्नो प्राथमिकतामा राख्दै जनताको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
तपाईको प्रतिक्रिया