वीरगञ्ज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा पत्रकार एवं साहित्यकार महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन्।
प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको हो।
नयाँ नेतृत्व चयनसँगै वीरगञ्जसहित मधेश प्रदेश र साविक नारायणी अञ्चलको साहित्यिक गतिविधिलाई थप सक्रिय बनाउने, पठन संस्कृतिको विकास गर्ने तथा नयाँ पुस्तालाई साहित्यसँग जोड्ने अपेक्षा गरिएको छ।
प्रतिष्ठानका अध्यक्ष डा.विशम्भर कुमार शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाले उपाध्यक्षमा कविता खड्का, सचिवमा सुरेश बिडारी र कोषाध्यक्षमा अजमत अली अन्सारीलाई चयन गरेको छ।
त्यसैगरी, कार्यसमिति सदस्यमा गीता भण्डारी, सूर्य शुभचिन्तक, रेणु गुप्ता, देवी सापकोटा, नवराज रिजाल, किशुन दयाल श्रीकृष्ण र देवराज खरेल चयन भएका छन्।
साधारण सभामा वक्ताहरूले प्रतिष्ठानलाई पदाधिकारी चयनमा मात्र सीमित नराखी साहित्यिक सिर्जना, पठन संस्कृति, लेखक तथा पाठकबीचको सम्बन्ध र नयाँ प्रतिभाको विकासका लागि सक्रिय संस्थाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
उनीहरूले साहित्यिक संस्थाको वास्तविक सफलता नियमित गतिविधि, सर्जकको सम्मान, सिर्जनाको प्रवर्द्धन र समाजमा पठन संस्कृतिको विस्तारबाट मापन हुने धारणा व्यक्त गरेका थिए।
प्रतिष्ठानका संस्थापक एवम् वरिष्ठ सल्लाहकार जगदिश शर्माले साहित्यिक गतिविधिलाई निरन्तरता दिँदै संस्थाको प्रतिष्ठा अभिवृद्धि गर्नुपर्ने बताए। उनले अग्रज साहित्यकारको योगदानलाई सम्मान गर्दै साहित्यिक परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने काममा प्रतिष्ठानले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
साहित्यकार गणेश प्रसाद लाठले वीरगञ्जमा पठन संस्कृतिको विस्तार र नयाँ पुस्तालाई साहित्यप्रति आकर्षित गर्नु आजको आवश्यकता रहेको बताए।
उनले पुस्तक मेला, साहित्यिक विमर्श, कवि गोष्ठी तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरेर पाठक र सर्जकबीचको सम्बन्ध बलियो बनाउनुपर्ने धारणा राखे।
साहित्यलाई पर्यावरण, प्रकृति र समसामयिक सामाजिक सवालसँग जोड्दै अघि बढ्न सके यसको प्रभाव र उपयोगिता अझ व्यापक हुने उनको भनाइ थियो।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले वीरगञ्ज व्यावसायिक शहरका रूपमा परिचित भए पनि यसको साहित्यिक पहिचान र सांस्कृतिक विरासतको संरक्षण तथा प्रवर्द्धन उत्तिकै महत्त्वपूर्ण रहेको बताए।
उनले नारायणी वाङ्गमय प्रतिष्ठानले वीरगञ्जमा मात्र सीमित नभई समग्र मधेश प्रदेश तथा साविक नारायणी अञ्चलका मकवानपुर र चितवनका साहित्यकारलाई समेत समेटेर क्षेत्रीय साहित्यिक एकताको सशक्त आधार तयार गर्नुपर्ने सुझाव दिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछानेले नारायणी वाङ्मयले वीरगंजको साहित्य सृजनामा पूर्नजागरणको काम गर्ने बिश्वास ब्यक्त गरे ।
उनले साहित्य समाजको दर्पणको रुपमा रहेको चर्चा गर्दै वाङ्गमयले साहित्यको श्रीवृद्धि र सामाजिक चेतनाको विस्तारमा जोड दिनु पर्ने बताए ।
कार्यक्रममा महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा र पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
वक्ताहरूले साहित्यिक संस्थाको सुदृढीकरण, सिर्जनात्मक वातावरण निर्माण र साहित्यिक गतिविधिको विस्तारका लागि सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
नवनिर्वाचित अध्यक्ष गौतमले अग्रजहरूको अनुभव, सुझाव र मार्गदर्शनलाई आत्मसात् गर्दै सहकर्मीसँग सहकार्य गरेर प्रतिष्ठानलाई थप सक्रिय, प्रभावकारी र विश्वसनीय संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले नयाँ पुस्तालाई साहित्यसँग जोड्ने, सर्जकलाई सिर्जनाका लागि प्रोत्साहित गर्ने र प्रतिष्ठानका गतिविधिलाई थप व्यवस्थित बनाउने दिशामा पहल गर्ने बताए।
साहित्यिक संस्थाप्रतिको विश्वास व्यवहार, निरन्तरता र परिणामबाट स्थापित हुने भएकाले प्रतिष्ठानले नियमित साहित्यिक कार्यक्रम, पुस्तक प्रकाशन तथा पठन प्रवर्द्धन, नवप्रतिभाको पहिचान र अग्रज सर्जकको सम्मानलाई प्राथमिकतामा राख्नुपर्ने अपेक्षा गरिएको छ।
नयाँ नेतृत्वले यी क्षेत्रमा ठोस पहल गर्न सके नारायणी वाङ्गमय प्रतिष्ठान वीरगञ्जको साहित्यिक पहिचान बलियो बनाउने मात्र नभई मधेशसहित आसपासका क्षेत्रका साहित्यकारलाई जोड्ने साझा मञ्चका रूपमा समेत स्थापित हुन सक्नेछ।
तपाईको प्रतिक्रिया