वीरगंज । बंगालको खाडीमा रहेको अर्नबु चक्रवातका कारण जिल्लामा हुन सक्ने सम्भावित विपद्लाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विशेष मौसम बुलेटिन अनुसार बंगालको खाडीमा रहेको अर्नबु चक्रवात थप शक्तिशाली बन्दै गएको र यसको प्रभाव आगामी कात्तिक ११ गतेदेखि नेपालको जमिनी भू भागमा प्रवेश गर्ने सम्भावना रहेको कार्यालयले जनाएको छ।
विशेषगरी आगामी कात्तिक १२ गते बिहीबार रातिदेखि कात्तिक १४ गते शनिबारसम्म मधेश प्रदेश लगायतका क्षेत्रहरुमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
यस चक्रवातबाट सिर्जना हुन सक्ने सम्भावित विपद्को जोखिमलाई न्यूनीकरण गर्न र जनधनको सुरक्षा सुनिश्चित गर्न जिल्लास्थित आम नागरिक, कृषक, यातायात व्यवसायी तथा सुरक्षा निकाय लगायत सबै सरोकारवालाहरुमा कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाद्वारा जारी गरिएको सूचनामा पाकेको धानबाली काट्ने, भित्र्याउने लगायतका कृषि कार्यहरू कात्तिक १२ गते बिहीबार अगाडि नै गरिसक्न वा सो अवधिभर स्थगित गर्न उल्लेख गरिएको छ।
त्यस्तै सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले अत्यन्त जरुरी काम नपरी यात्रा नगर्न र यात्रा गर्नै परे मौसमको अवस्था हेरेर मात्र निस्कन।
सो समयावधिमा जिल्लामा रहेका साना तथा ठूला खोला नदीहरुको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले उच्च सतर्कता अपनाउन।
आकस्मिक बाढी आउनसक्ने खोला, खहरेको नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोलारनदी किनारका बस्तीका बासिन्दाहरू बढी चनाखो हुन।
वर्षा र बाढी बारे नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बलको हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न।
नेपाल मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अध्यावधिक पूर्वानुमानरपूर्वसूचनारचेतावनी सम्बन्धी जानकारी लिइरहन अनुरोध समेत गरिएको छ ।
तपाईको प्रतिक्रिया