वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८३-०८४ का लागि मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पवनकुमार भट्टराईको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रहरी कार्यालयबाट सम्पादन हुने विभिन्न गतिविधिलाई व्यवस्थित, प्रभावकारी, उत्कृष्ट तथा मूल्याङ्कनयोग्य बनाउने उद्देश्यले वार्षिक कार्यसम्पादन करार गरिएको हो।
कार्यक्रममा एसपी भट्टराईले मातहतका सम्पूर्ण प्रहरी युनिट प्रमुखहरूलाई शान्ति सुरक्षा कायम गर्न भरपर्दो सुरक्षा योजना निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका थिए।
उनले कार्यसम्पादन करारमा उल्लेख गरिएका लक्ष्यअनुसार उत्कृष्ट कार्य गर्न पनि प्रहरी अधिकारीहरूलाई आग्रह गरे।
नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्था थप मजबुत बनाउन, भन्सार छली गरी हुने चोरी निकासी तथा पैठारी नियन्त्रण गर्न, लागूऔषध ओसारपसार रोक्न र सवारी दुर्घटना न्यूनीकरण गर्न विशेष ध्यान दिन उनले निर्देशन दिएका थिए।
कार्यसम्पादन करारले प्रहरीका गतिविधिलाई योजनाबद्ध, जिम्मेवार र परिणाममुखी बनाउँदै जिल्लामा शान्ति सुरक्षा कायम गर्न तथा प्रहरी सेवाको प्रभावकारिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया