पोखरिया, पर्सा । पोखरिया नगरपालिका–३, बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि ७६ लाख ५९ हजार ५ सय बराबरको सहयोग परियोजना स्वीकृत भएको छ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एसको प्रथम डिस्ट्रिक्ट क्याविनेट मिटिङबाट विद्यालय भवन निर्माणसम्बन्धी उक्त सहयोग परियोजना स्वीकृत गर्ने निर्णय भएको हो।
परियोजना लायन्स क्लब अफ पोखरियाका अध्यक्ष लायन नेजामुद्दीन शमानीको पहल, समन्वय र सक्रियतामा अघि बढाइएको जनाइएको छ।
ग्रामीण क्षेत्रका बालबालिकालाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउने उद्देश्यले परियोजना अघि बढाइएको हो।
विद्यालय भवन निर्माणपछि विद्यार्थीको पठनपाठनका लागि आवश्यक भौतिक पूर्वाधार थप व्यवस्थित हुने तथा शैक्षिक वातावरणमा समेत सुधार आउने अपेक्षा गरिएको छ।
परियोजना स्वीकृतिका लागि पहल तथा समन्वय गर्ने लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस का अध्यक्ष लायन रामबिहारी पाण्डेयसहित सम्पूर्ण पदाधिकारी, सदस्य तथा सहयोगीहरूप्रति लायन्स क्लब अफ पोखरियाले आभार व्यक्त गरेको छ।
यसै अवसरमा लायन्स क्लब अफ पोखरियाका अध्यक्ष लायन नेजामुद्दीन शमानीलाई लायन्स क्लबको पिन लगाई सम्मान गरिएको थियो।
सम्मानपछि शमानीले आफूलाई प्राप्त माया, विश्वास र सम्मानले आफूलाई थप जिम्मेवार बनाएको बताउँदै सहयोग र विश्वासका लागि धन्यवाद व्यक्त गरे।
“शिक्षामा लगानी, भविष्यको निर्माण” भन्ने मूल भावनासहित अघि बढाइएको परियोजनाले ग्रामीण क्षेत्रको शिक्षाको गुणस्तर सुधारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया