वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका थुनुवा र कार्यालयमा कार्यरत प्रहरी कर्मचारीले अब प्रहरी परिसरमै नियमित स्वास्थ्य परीक्षण गराउन पाउने भएका छन् ।
यसका लागि जिल्ला प्रहरी कार्यालय पर्सा र वीरगन्ज हेल्थ केयर अस्पतालबीच एक वर्षका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौताअनुसार अस्पतालका चिकित्सकले हरेक शुक्रबार जिल्ला प्रहरी कार्यालयमै पुगेर थुनुवा तथा प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण गर्नेछन् । सामान्य स्वास्थ्य समस्यादेखि थप उपचार आवश्यक पर्ने अवस्थासम्म स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
स्वास्थ्य परीक्षणका क्रममा जटिल समस्या देखिएमा सम्बन्धित व्यक्तिलाई अस्पतालमा थप उपचारको व्यवस्था गरिनेछ । सम्झौताअन्तर्गत न्यूरो, कार्डिएक र स्पाइनल इन्जुरीसम्बन्धी समस्याको उपचारसमेत गरिने जनाइएको छ ।
सम्झौतापत्रमा वीरगन्ज हेल्थ केयर अस्पतालका अध्यक्ष अबुलहैस अन्सारी र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराईले हस्ताक्षर गरेका छन् ।
एसपी भट्टराईले हिरासतमा रहेका व्यक्तिको स्वास्थ्य अवस्थालाई बेवास्ता गर्न नहुने बताए । उनले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी अधिकारलाई ध्यानमा राख्दै थुनुवा र प्रहरी कर्मचारी दुवैका लागि नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको जानकारी दिए ।
अस्पताल प्रशासन प्रमुख भूमिका अधिकारीका अनुसार ‘बिमा नागरिक कार्यक्रम’ अन्तर्गत एक लाख रुपैयाँसम्मको उपचार सेवा उपलब्ध गराउने व्यवस्था पनि सम्झौतामा समेटिएको छ ।

यस व्यवस्थाले हिरासतमा रहेका थुनुवालाई आवश्यक परेको समयमा स्वास्थ्यकर्मीको पहुँच सहज बनाउने तथा समयमै उपचार पाउने वातावरण तयार गर्ने अपेक्षा गरिएको छ ।
सम्झौताको अवधि एक वर्ष रहनेछ ।
कार्यक्रममा डीएसपी चक्रबहादुर मल्ल, राजु कार्की, अस्पतालका कर्मचारी तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकारीहरूको सहभागिता थियो ।


तपाईको प्रतिक्रिया