वीरगन्ज । पर्साको पोखरिया नगरपालिकामा २ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेको भनिएका युवकमध्ये मुख्य व्यक्तिलाई नै प्रहरीले रिहा गरेको आरोप सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय पोखरियाको कारबाहीमाथि प्रश्न उठेको छ।
घटनामा दुई जना पक्राउ परेको स्थानीय स्रोतको दाबी र एक जना मात्रै पक्राउ परेको प्रहरीको आधिकारिक भनाइबीच विरोधाभास देखिएको छ।
स्थानीय स्रोतका अनुसार गत सोमबार इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको थियो।
तर, पक्राउ परेका भनिएका दुई जनामध्ये एक जनालाई प्रहरी हिरासतबाटै छाडडेको र अर्का व्यक्तिमाथि मात्रै मुद्दाको प्रक्रिया अघि बढाइएको दाबी गरिएको छ।
स्रोतले दिएको विवरणअनुसार पोखरिया नगरपालिका वडा नम्बर ४ निवासी रितिक गिरी र वडा नम्बर १० निवासी गोविन्दा राउत कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रहरीको विशेष टोलीले सुरुमा गिरीलाई नियन्त्रणमा लिएको र उनकै बयानका आधारमा लागूऔषध कारोबारमा संलग्न रहेको आरोप लागेका अर्का युवक पटेललाई समेत नियन्त्रणमा लिइएको स्थानीय स्रोतको भनाइ छ।
तर, घटनाको सबैभन्दा चासोको विषय बनेको छ– सुरुमा पक्राउ परेका भनिएका गिरीलाई एक रात प्रहरी नियन्त्रणमा राखेर किन रिहा गरियो ?
घटनाबारे इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक भानुभक्त अर्यालसँग प्रतिक्रिया लिँदा उनले दुई जना पक्राउ परेको दाबीलाई अस्वीकार गरेका छन्।उनका अनुसार घटनामा अन्य कुनै व्यक्ति पक्राउ परेका छैनन्।
जिल्ला प्रहरी कार्यालय पर्साले पनि आफ्नो अभिलेखमा एक जना मात्रै पक्राउ परेको विवरण रहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले आफूहरूलाई प्राप्त सूचनाअनुसार एक जना मात्रै पक्राउ परेको बताए।
यद्यपि, घटनाबारे थप सूक्ष्म अनुसन्धान गर्ने उनको भनाइ छ। गिरीको संलग्नता देखिए उनलाई पनि कानुनी दायरामा ल्याइने प्रवक्ता मल्लले बताएका छन्।
प्रहरीको आधिकारिक भनाइ र स्थानीय स्रोतको दाबीबीच देखिएको विरोधाभासले घटनाको निष्पक्ष छानबिन आवश्यक देखिएको छ।
प्रहरीले लागूऔषध कारोबारविरुद्ध कारबाही गरेको दाबी गर्दै गर्दा पक्राउ परेका भनिएका व्यक्तिको संख्या नै फरक देखिनुले अनुसन्धान प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठाएको छ।
तपाईको प्रतिक्रिया