logo

‘लाइफ लाइन’ कब्जा गर्न चुनावी ‘भिडन्त’

प्रदेश दुईको एक मात्र महानगर कब्जा गर्ने दाउ

      8/30/2017 गते 00 00 मा प्रकाशित     1866   पटक पढिएको

भाद्र १४, २०७४ / मुलुकको ‘लाइफ लाइन’ को रुपमा रहेको प्रदेश २ को एक मात्र महानगरपालिका वीरगन्जमा बाजी मार्न दलले सम्पूर्ण साधन, शक्ति र स्रोत प्रयोग गर्ने रणनीति अघि सारेका छन् । आक्रामक प्रचार प्रसारका लागि उम्मेदवारले चुनावी भिडियो निर्माण गर्न लगाएका छन्, केहीले भारतबाट ‘आईटी’ विशेषज्ञ नै झिकाएका छन् । दलबीच चुनावी ‘भिडन्त’ सुरु भइइसकेको छ ।

गत साता राष्ट्रिय जनता पार्टी (राजपा)ले पनि भाग लिने निर्णय गरेपछि मधेसमा निर्वाचनको रौनक छाएको छ । ६ महिना लामो मधेस बन्द, साढे चार महिनाको नाकाबन्दी र भर्खरै आएको बाढी र डुबानको चपेटामा परेका यस भेगका जनतालाई आफ्नो पक्षमा पार्न ठूला दलका शीर्ष नेता नै मधेस झरेका छन् । बाढी र डुबानको पीडा खेप्नु परेपनि मतदाता स्थानीय सरकार गठनमा उत्सुक देखिएका छन् ।

स्थानीय तहमा सोमबार निर्वाचन अधिकृतको कार्यालय खोलिदा स्थानीय राजनीतिक दल र जनताको व्यापक सहभागिता देखिएको थियो । प्रदेशका ८ जिल्लामा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १ सय ३६ स्थानीय तह कायम छन् ।

राज्य पुन:संरचनापछि पहिलोपटक हुन लागेको स्थानीय तह निर्वाचनमा मत खसाल्न मतदाता आतुर छन् । पछिल्लो तीन दिनदेखि एमालेका शीर्ष नेताहरु वीरगन्जमै चुनावी छलफल, प्रशिक्षण र घरदैलो अभियानमा सामेल भएका छन् । शनिबार राजपा अध्यक्ष महन्थ ठाकुर पर्साको ग्रामीण भेगमा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका थिए । संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि केही दिनभित्रै वीरगन्ज आउने भएका छन् ।

पछिल्लो मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीको ‘केन्द्रविन्दु’ वीरगन्ज बनेको थियो । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पनि सबैको केन्द्रविन्दु पनि यहीं नगर बनेको छ । मधेसकेन्द्रित दलदेखि लिएर ठूला दलले २ नम्बर प्रदेशको एकमात्र महानगर वीरगन्जलाई कब्जा गर्ने रणनीति बनाइरहेका छन । त्यही अनुसार प्रचार र रणनीति बनाउन व्यस्त छन् । बजारमा चर्चित अनुहार र पैसावालालाई टिकट दिने देखि लिएर पार्टीका प्रभावशाली नेतालाई यहांको मेयर उम्मेदवार घोषणा गर्ने तयारीमा दल रहेका छन् ।

  1. यस्ता छन् मेयरका उम्मेदवार

    सत्तारुढ दल कांग्रेस स्थानीय तह निर्वाचनको पहिलो र दोस्रो चरणमा दोस्रो स्थानमा आएपछि प्रदेश नम्बर दुईमा अत्यधिक सिट जितेर पहिलो हुने रणनीतिमा छ । वीरगन्ज महानगरको मेयरका लागि प्रभावशाली उम्मेदवार मानिएका जिल्ला सभापति तथा पूर्व सभासद अजय द्धिवेदीलाई टिकट दिने करिब पक्का भएको छ । ०४९ सालमा उपमेयर भएका द्धिवेदी पहिलो संविधान सभाको निर्वाचनमा पर्साको क्षेत्र नम्बर २ बाट निर्वाचत भएका थिए ।

    दोस्रो संविधान सभाको निर्वाचनमा त्यही क्षेत्रमा एमालेसँग पराजित भएका द्धिवेदी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएका हुन् । सम्भावना भएका, मृदुभाषी, प्रष्टवक्ता र सैद्धान्तिक ज्ञान भएको मानिएपनि द्धिवेदीका वरिपरि भिजन नभएका कार्यकर्ताको गुट हावी भएको कांग्रेसजनको आरोप छ । अन्य राजनीतक दलले द्धिवेदीलाईनै प्रमुख प्रतिद्धन्द्धीको रुपमा लिएका छन् । आधिकारिक रुपमा घोषणा नभइसकेकाले द्धिवेदीले प्रसार प्रसारलाई तीव्रता दिएका छैनन् । प्रमुख प्रतिपक्षी एमालेले नवप्रवेशी बशरुद्दिन अन्सारीलाई मेयरमा लडाउने घोषणा नै गरिसकेको छ ।

    यहाँस्थित नेशनल मेडिकल कलेजका प्रबन्द निर्देशक समेत रहेका अन्सारी एमालेबाट मेयरको टिकट पाउने आश्वासनमा गत जेठ अन्तिम साता एमाले प्रवेश गरेका थिए । दोस्रो संविधान सभा निर्वाचनमा एमाओवादीबाट चुनाव लडेका अन्सारी राजनीतिक गतिविधीमा संलग्न रहेपनि उनको पृष्ठभूमि भने राजनैतिक हैन् । मिजासिला स्वभावका अन्सारी लो–प्रोफाइलमा बस्न रुचाउने जानकार बताउँछन् । मधेस आन्दोलनका क्रममा एमालेलाई लक्षित गरी मधेसकेन्द्रीत दलले छरेको भ्रम चिर्दै अन्सारी नेता र कार्यकर्ता लिएर आक्रामक प्रसार पसार थालेका छन् । कार्यवाहक अध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता माधव नेपाल, शंकर पोखरेल लगायतका नेता अन्सारीको घरदैलो अभियानमा सहभागि भएका छन् ।

    संघीय समाजवादी फोरम नेपालले व्यापारी विजय सरावगीलाई मेयरको चुनावी रणभूमिमा उतारेको छ । वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सरावगी ट्रेडिङ र वित्तीय संस्थाका सञ्चालक हुन् । ५ महिना अगाडि पार्टी अध्यक्ष उपेन्द्र यादवको हातबाट टिका र माला लगाएर फोरम प्रवेश गरेका सरावगी उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य समेत भइसकेका छन् । मधेस आन्दोलनमा सहभागी नभएपनि जिल्ला अध्यक्ष प्रदीप यादव र कार्यकर्ताको बलियो साथ पाएका सरावगी मधेसको माग र अधिकारका लागि संघर्षरत पार्टीको ‘लिगेसी’ र व्यापारिक छवि देखाएर आफ्नो पक्षमा माहौल बनाउने रणनीतिमा रहेका छन् ।

    गत वैशाखमा ६ दल मिलेर गठन भएको राजपा चुनावमा भाग लिने निर्णय गरेसँगै आन्तरिक द्धन्द्ध सडकमा प्रदर्शन हुन थालेको छ । तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीका विमल श्रीवास्तव र राष्ट्रिय मधेस समाजवादी पार्टीका राजेशमान सिंहले वीरगन्जको मेयरका लागि दाबी गरेपछि पार्टीलाई विवाद समाधान गर्न हम्मे परेको छ । उम्मेदवार छनौटका लागि केन्द्रले खटाएका पर्यवक्षेक विजय गुप्ताकै अगाडि गत शुक्रबार दुई पक्षले टिकटको दाबी गर्दै शक्ति प्रदर्शन गरेपछि कार्यक्रम विथोलिएको थियो । शाहीकालको स्थानीय निकायको चुनावसँगै ४ पटक वीरगन्जको मेयर भइसकेका श्रीवास्तव राजनीतिमा आधारभूत तहबाट आएका राजनीतिका पुराना खेलाडी मानिन्छन् ।

    राजपाबाटै मेयरका अर्का आकांक्षी राजेशमान सिंह पछिल्लो मधेस आन्दोलनमा सक्रिय सहभागि रहेका थिए । ०५४ को स्थानीय निकायको चुनावमा वीरगन्जको ३ नम्बर वडा सदस्यमा जीतेका सिंह ०५७ मा नगरपारिषदको अध्यक्षमा स्वतन्त्र समूहबाट बिजयी भएका थिए । ०५७ देखि संविधान सभाको पहिलो निर्वाचनसम्म श्रीवास्तवको सहयोगीको रुपमा रहेका सिंह दोस्रो संविधान सभामा प्रतिद्धन्द्धी भएर देखापरे । सिंह र श्रीवास्तबीच मत बाँडिदा कांग्रेसका राजेन्द्र अमात्यले जीतेका थिए । सिंह र श्रीवास्तव मिलेर एकजना चुनाव लडेमा जोसुकैका लागि बलियो प्रतिस्पर्धी हुने राजनीतिक विश्लेषकको बुझाई छ । युवा माझ लोकिप्रिया रहेका सिंह ‘एक्शन ओरियन्टेड’ नेताको रुपमा चर्चित छन् । अर्को सत्तारुढ दल माओवादी केन्द्रले आर्थिक तथा व्यापारिक नगरीको मेयरमा युवा उम्मेदवार रहबर अन्सारीलाई अगाडि सारेको छ ।

    विदेशमा अध्ययन गरेका ३१ वर्षीय अन्सारी वीरगन्जको गण्डक अस्पतालका निर्देशक हुन् । हंगेरीको बुडापेष्टमा रहेको सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा स्नाकोत्तर गरेका अन्सारी माओवादीका जिल्ला सदस्य र माओवादी निकट मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय सदस्य पनि हुन् । निर्वाचन प्रचारका लागि उनले युट्युबमा अपलोड गरेको भिडियोले बढी चर्चा बटुलेका छन् । फोरम लोकतान्त्रिक र राप्रपा नेपालले अझसम्म मेयरको उम्मेदवार कसलाई बनाउने भनेर तय गरिसेकका छैनन् । राजपाका बागीलाई टिकट दिने रणनीतिमा दुबै पार्टी रहेको जानकार बताउँछन् ।
     
  2. यस्तो छ महानगर

    निर्वाचन कार्यालयका अनुसार ३२ वडा रहेको महानगरमा एक लाख ८ हजार पाँच सय एक मतदाता रहेका छन् । १६ गाउँका वासिन्दा बिना पूर्वाधार एकैपटक महानगरवासी बन्न पाउँदा सेवा सुविधा थपिने आशा लिएका छन् । २०७१ मंसिर १६ मा सरकारले उपमहानगर विस्तार गर्ने  क्रममा ११ गाविस उपमहानगरपालिकामा गाभेको थियो । गाविसबाट उपहानगर हुँदै अहिले महानगरवासी बनेका नयाँ ५ सहित १६ गाविसका वासिन्दालाई भौतिक पूर्वाधार, सरसफाई लगायतका सेवा सुविधा पुर्‍याउन महानगरपालिकालाई चुनौती थपिएको छ । न्युनतम पूर्वाधारको विकास बिना नै राजनीतिक उद्देश्यका लागि महागर घोषणा गरिएकाले चुनौती र जिम्मेवारी थपिएको महानगरपालिकाका कर्मचारीको भनाई छ ।

    एक सय ३२ दशमलव सात वर्गकिलोमिटर क्षेत्रफल रहेको महानगरपालिकाको पूर्वमा वारा जिल्ला र दक्षिणमा भारतको विहार राज्यसँग सीमा जोडिएको छ । मुलुकको मुख्य प्रवेशद्धार र औद्योगिक व्यापारिक नगरी वीरगन्ज पछिल्लो समय अव्यस्थित बन्दै गएको छ । घन्टाघर, माइस्थान, आदर्शनगर, छपकैयाक्षेत्रमा बढो सवारी चापका कारण आवागमन कठिन बन्दै गएको छ । २ लेनको सडकमा रिक्सा, साइकल, मोटरसाइकल, टांगा, बयलगाडा, कार, जीप लगायतका ‘मिश्रित’ सवारी साधन गुड्ने गरेका छन् । पाँच दशक अगाडि जुन योजना अनुसार सडक निर्माण गरिएको थियो, त्यसको क्षमताले यातायात र आवागमनको चापलाई थेग्न नसक्ने अवस्था छ । जनसंख्या वृद्धिका कारण पनि सडक वृद्धि अनिवार्यजस्तो बन्न पुगेको छ । सडकको चौडा विस्तार नगरेसम्म व्यवस्थित सहरको कल्पना गर्न मात्र सकिन्छ ।

    वीरगन्जवासीको दैनिक जीवनलाई सहज र व्यवस्थित बनउन सडक विस्तारलाई व्यवस्थित तरिकाले लैजानुपर्छ ।व्यापारिक नाका विस्तार योजना अन्तर्गत विराटनगर, भैरहवा र नेपालगन्जका मूख्य सडक ६ लेन निर्माण भएपनि वीरगन्जको त्रिभुवन राजमार्ग अझै फराकिलो हुन सकेको छैन् । योजना अन्तर्गत सडक विभागले प्रयास गरेपनि यहाँका केही नेता र उद्योगी/व्यापारीले अवरोद्ध सृजना गर्दै आएका छन् । विमलेन्द्र निधि भौतिक योजना तथा निर्माण मन्त्री हुँदा उनी निकट मानिएका नेता र व्यापारीले मन्त्रालयनै पुगेर वीरगन्ज–पथलैया सडक विस्तारको नक्सांकन नै परिवर्तन गर्न लगाएका थिए । हाल निर्माणाधिन रहेको उक्त सडकखण्ड पथलैया देखि वाराको परवानीपुर हुँदै वीरगन्जको सुक्खा बन्दरगाह जाने सडक फराकिलो पार्ने कार्य भइरहेको छ ।

    सडक विभागका एक इन्जिनियरका अनुसार वीरगन्जको केही नेता र व्यापारीको दबाबले रेखाकंन परिवर्तन नगरिएको भए अहिले परवानीपुरदेखि वीरगन्जको हुँदै भन्सारसम्मको सडक फराकिलो पार्ने कार्य सम्पन्न भइसकेको हुन्थ्यो । विभिन्न मञ्चहरुमा तिनै नेता र उद्योगीले राज्यले वीरगन्जलाई हेला गर्‍यो भनेर भाषण समेत गर्छन् । योजनाविहिन वस्ती विस्तारका कारण सहर अव्यस्थित बन्दै गएको छ ।

    महानगरपालिका नक्सा फाँटका एक इन्जिनियरका अनुसार वीरगन्जमा पहिले घर निर्माण गर्ने अनि सडक, नाला, बिजुलीका लागि गुहार्ने प्रवृक्ति बढेको छ । सहरको पूर्वी, पश्चिमी र उत्तरी भेगमा विस्तार भएका नयाँ वस्तीमा वरुणयन्त्र, एम्बुलेन्स लगायतका सवारी साधन प्रवेशमा कठिनाई छ । ‘वार्षिक करिब २० बिघा क्षेत्रफलमा सहरी क्षेत्र विस्तार भइरहेको छ,’ ती इन्जिनियर भन्छन्, ‘अधिकांश घर नक्सा पास बिना नै निर्माण भएका छन्, सडकसँग टाँसिएर घर निर्माण गर्ने र झ्यालको टप सडकमाथि सम्म आउने गरेको छ ।’

    साभार: भाद्र १४, २०७४ प्रकाशित कान्तिपुरबाट

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.