वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–४ विजयबस्तीमा नेपाल प्रहरीको नवनिर्मित भवन र निर्मल बस्ती स्वास्थ्य चौकीको नयाँ भवन एकै दिन उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ।
विजयबस्ती चोकमा निर्माण सम्पन्न भएको प्रहरी भवनको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराई, ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ र वडा नम्बर ४ का अध्यक्ष मानबहादुर थिङले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका हुन्। उद्घाटनपछि प्रहरी जवानहरूलाई नयाँ भवनमा प्रवेश गराइएको थियो।
त्यसैगरी, विजयबस्तीस्थित निर्मल बस्ती स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले रिबन काटेर गर्नुभएको थियो।
कार्यक्रममा एसपी पवनकुमार भट्टराई, वडा अध्यक्ष मानबहादुर थिङ, विभिन्न जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
प्रहरी भवन सञ्चालनमा आएसँगै स्थानीय क्षेत्रमा शान्ति सुरक्षा तथा प्रहरी सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, स्वास्थ्य चौकीको नयाँ भवन सञ्चालनमा आएपछि स्थानीय नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्न थप सहज र व्यवस्थित वातावरण पाउने विश्वास गरिएको छ।
स्थानीय तहमा सुरक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाका पूर्वाधार एकै दिन थपिनु ठोरीको विकासका लागि सुखद उपलब्धिका रूपमा लिइएको छ।
ठोरीको विकास, समृद्धि र जनताको सहज सेवाका लागि यस्ता पूर्वाधार निर्माणले थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया