मलंगवा । सर्लाहीकोे बिभिन्न ठाउँमा भएको सडक दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोकअगाडि ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ।
नगरपालिका चोकबाट राजश्री चोकतर्फ जाँदै गरेको ज १ त ५२४६ नम्बरको ट्याक्टरले सोही दिशातर्फ पैदल गइरहेकी सर्लाहीको गोडैता नगरपालिका–५ घर भई सर्लाही क्याम्पस मलंगवामा बिबिएस दोस्रो वर्षमा अध्ययनरत २० वर्षीया गुडिया कुमारी गुप्तालाई ठक्कर दिएको थियो।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी गुप्तालाई प्रहरी चौकी गोरखकालीबाट खटिएको टोलीले तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्याएको थियो। अस्पतालमा चिकित्सकहरूले जाँच गर्ने क्रममा उनलाई मृत घोषणा गरेका हुन्।
प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक सर्लाहीको गोडैता नगरपालिका–११ निवासी अन्दाजी १७ वर्षीय अजय साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै सर्लाहीको हरिपुर्वा नगरपालिका–३ काब्रिस्तानस्थित धनकौल–पर्सा भित्री सडकखण्डमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
दुर्घटनामा परी ज ११ प १२१३ नम्बरको मोटरसाइकलको पछाडि सवार हरिपुर्वा नगरपालिका–३ का ४० वर्षीय कारी पमरियाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, दुर्घटनामा प्रदेश २–०२–००३ प ११७५ नम्बरको मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१५ सुक्नाह बस्ने ४५ वर्षीय चन्देश्वर दास घाइते भएका छन्। घाइते दासको धनुषाको जनकपुरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले ज ११ प १२१३ नम्बरको मोटरसाइकलका चालक हरिपुर्वा नगरपालिका–३ बस्ने २६ वर्षीय अदुत शेखलाई नियन्त्रणमा लिएको छ।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकल हाल प्रहरी चौकी पर्साको नियन्त्रणमा रहेका छन् भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया