पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।
स्थानीय पार्कमा सोमबार आयोजित एकदिने रक्तदान कार्यक्रममा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरेका हुन्।
नारायणी खबर मिडिया सखुवा प्रसौनीको आयोजनामा तथा सखुवा प्रसौनी गाउँपालिकाको समन्वय र सहयोगमा कार्यक्रम सञ्चालन गरिएको थियो। रक्तसञ्चार केन्द्र पर्साले प्राविधिक सहयोग गरेको थियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष जसवन्त यादवले रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिनुपर्ने बताए। अस्पतालमा रगतको अभावका कारण बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन स्थानीयस्तरबाट हुने यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।
कार्यक्रमका अध्यक्ष तथा नारायणी खबरका सम्पादक चिरञ्जीवी यादवले सञ्चारमाध्यमले समाचार सम्प्रेषणसँगै सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्नुपर्ने बताए। रगतको आवश्यकता पर्ने बिरामीलाई सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए।
कार्यक्रममा सखुवा प्रसौनी–२ का वडाध्यक्ष चिरञ्जीवी महतो थारु, आरिफ अन्सारी, नेपाल पत्रकार महासंघ पर्साका सदस्य प्रमोद यादव तथा स्थानीय पत्रकार रामकिशोर चौधरी र नवल यादवको उपस्थिति थियो।
त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुसवाहा, लेखा शाखा प्रमुख सुमन साह, प्रशासन शाखा प्रमुख अरविन्द ठाकुर र स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारलगायत कर्मचारी तथा स्थानीयको सहभागिता रहेको थियो।
रक्तसञ्चार केन्द्र पर्साका प्राविधिक मनिस साहको नेतृत्वमा आएको टोलीले रक्त संकलन तथा आवश्यक प्राविधिक व्यवस्थापन गरेको थियो।
तपाईको प्रतिक्रिया