वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकले कार्यालयका कामकारबाहीलाई थप जवाफदेही बनाउने उद्देश्यले बैठकले सातबुँदे निर्णय गरेको छ।
सूचना अधिकारीहरूको बैठकले विगतमा प्राप्त भएका सूचना मागसम्बन्धी निवेदन तथा उपलब्ध गराइएको सूचना विवरणको समीक्षा गर्दै आगामी दिनमा कानुनबमोजिम सूचना मागकर्तालाई छिटो र पारदर्शी रूपमा सूचना उपलब्ध गराउने निर्णय गरेको हो।
बैठकले कार्यालयबाट सम्पादन भएका मुख्य–मुख्य कार्य, नागरिक वडापत्र तथा स्वीकृत कार्यक्रमहरूको विवरण कार्यालयको आधिकारिक वेबसाइट र फेसबुक पेजमा नियमित रूपमा अद्यावधिक गर्ने निर्णय गरेको छ।
त्यसैगरी, सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ बमोजिम प्रत्येक तीन–तीन महिनामा गर्नुपर्ने स्वतः प्रकाशनको विवरण परिमार्जन गरी नियमित रूपमा कार्यालयको वेबसाइटमा राख्ने निर्णय गरिएको छ। ऐनले सार्वजनिक निकायलाई आफ्ना सम्बन्धित सूचना अद्यावधिक गरी तोकिएका विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ।
बैठकले २०८३ बैशाख १ गते देखी ०८३ साउन ३१ गतेसम्म माग भएका सूचनाको वर्गीकरण गरी अभिलेख तथा तथ्याङ्क राख्ने निर्णयसमेत गरेको छ। दिन नमिल्ने सूचना माग भए त्यसको विवरणसमेत अभिलेख राखी जिल्ला प्रशासन कार्यालय, महोत्तरीमा जानकारी पठाउने निर्णय भएको छ।
यसैगरी जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयका सूचना अधिकारीको विवरण जिल्ला हुलाक कार्यालय, महोत्तरीले अद्यावधिक गरी आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय भएको छ।
बैठकले कार्यालयमा रहेका भौतिक अभिलेखको डिजिटाइजेसन तथा संरक्षणसम्बन्धी कार्य नियमित रूपमा अघि बढाउने र सेवाग्राहीसँग आउने फोन तथा कार्यालयको आधिकारिक इमेलमा प्राप्त पत्रहरूको जवाफ समयमै दिने निर्णय पनि गरेको छ।
सूचनाको हकसम्बन्धी कानुनी व्यवस्थाअनुसार प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँचको हक छ। सार्वजनिक निकायले सूचना प्रवाहका लागि सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने कानुनी प्रावधानसमेत रहेको छ।
बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया