logo

चुनावमय काठमाडौँमा प्रमुख दलको रोचक प्रतिस्पर्धा

      5/7/2017 गते 00 00 मा प्रकाशित     1109   पटक पढिएको

काठमाडौँ, २५ वैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकामा निर्वाचन माहोल एक्कासि तातेको छ । महाअभियोग र प्रमुख दलहरुबीचको चुनावी तालमेलले राजनीतिक वातावरण तताइरहेका बेला काठमाडौँ महानगरमा कसले बाजी मार्ला भन्ने चर्चाले यहाँको चुनावी रौनक अझ बढाइदिएको छ ।


देशको केन्द्रीय राजधानीको निर्वाचन परिणाम आफ्नो प्रभाव, शक्ति र प्रतिष्ठासँग जोडेर प्रमुख दलले आफ्नो ध्यान काठमाडौँमा केन्द्रित गरेका छन् । दिनहँु प्रत्येक टोलटोलमा बिहानै उम्मेदवारसँगै हुलका हुल समर्थक, पार्टीका झन्डा, माइकिङ, पर्चासहितको घरदैलो र सानासाना सभाले फेरि चुनावमय भएको छ ।


उम्मेदवारका आकांक्षीले फ्रि वाइफाइदेखि उज्यालो अभियानसहित मेट्रो रेलदेखि ट्रली बस चलाएर धुलो, धुँवा र खाल्डाखुल्डीरहित पूर्वाधार सम्पन्न व्यवस्थित राजधानी बनाउने प्रतिबद्धता मतदातासमक्ष गरेका छन् ।


उम्मेदवार पुनःनिर्माणलाई सार्थक बनाउँदै यहाँको भाषा, संस्कृति र सम्पदाको संरक्षण गरी गर्व गर्न लायक सुविधा सम्पन्न आधुनिक ‘स्मार्ट सिटी’ बनाउने चुनावी सङ्कल्प लिएर घरदैलोमा पुगिरहेका छन् । वैशाख ३१ गते प्रदेश नं ३, ४ र ६ मा स्थानीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ ।


कुल ३२ वडा रहेको काठमाडौँ महानगरपालिकामा १६२ पदका लागि ८६६ को उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालका अनुसार विभिन्न दल तथा स्वतन्त्र गरी महानगरको प्रमुखमा २७, उपप्रमुखमा १३ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै वडा अध्यक्षमा २१९, खुला सदस्यमा ३५३, महिला सदस्यमा १६५ र दलित महिला सदस्यमा ८९ जनाको उम्मेदवारी परेको छ ।


संसद्को ठूलो दल नेपाली काँग्रेसको तर्फबाट महानगरपालिकाको उम्मेदवार बन्नुभएका राजुराज जोशीले आगामी पाँच वर्षमा काठमाडौँ महानगरभित्र निःशुल्क वाइफाइको सुविधा प्रदान गर्ने सङ्कल्प गर्नुभएको छ । महानगरभित्र भूकम्पले भत्केका भौतिक तथा पुरातात्विक संरचनाको पाँच वर्षभित्र पुनःनिर्माण सम्पन्न गर्ने मुख्य एजेन्डा रहेको अवगत गराउँदै उहाँ भन्नुहुन्छ, “महानगरपालिकालाई धुलो धुवाँरहित बनाउनुका साथै प्रत्येक खुला स्थानमा पार्कको व्यवस्था गर्न पहल गर्नेछु ।” मुलुकका सबै परिवर्तनमा काँग्रेसको प्रमुख भूमिका रहेको र नेतृत्व लिने क्षमता पनि आफ्नो पार्टीसँग भएको भन्दै उहाँ यसैको आधारमा निर्वाचन जित्ने दाबी गर्नुहुन्छ ।


विसं २०६८ को जनसङ्ख्याअनुसार महानगरपालिकाको जनसङ्ख्या नौ लाख ७५ हजार ४६३ छ । मतदाता सङ्ख्या दुई लाख ७१ हजार २२१ छ । विसं २०५२ मा महानगरपालिका घोषणा हुँदा यसको नगरप्रमुख पिएल सिंह हुनुहुन्थ्यो । महानगर घोषणापछि २०५४ सालको निर्वाचनबाट केशव स्थापित नगर प्रमुख बन्नुभयो ।


संसद्को दोस्रो ठूलो दल नेकपा ९एमाले० का तर्फबाट उम्मेदवार बन्नुभएका विद्यासुन्दर शाक्य पार्टीले ल्याएको कार्ययोजना अनुसार महानगरलाई २४ घन्टा खुल्ला बनाउने तथा पर्यटकीय आकर्षकको प्रमुख गन्तव्य बनाउने दृढता व्यक्त गर्नुहुन्छ । सुरक्षित र जीवन्त सहर बनाउन घनिभूत भएर लाग्ने सङ्कल्प गर्दै उहाँ भन्नुहुन्छ, “भवन निर्माणसम्बन्धी मापदण्ड परिमार्जन गर्नेछु र काठमाडौँलाई सम्पदाको सहरका रुपमा विकास गर्नेछु ।” राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेको एमालेले उपप्रमुखमा राप्रपाका राजाराम श्रेष्ठलाई समर्थन गरेको छ ।


देशको मात्र नभएर अन्तर्राष्ट्रिय पर्यटकीय आकर्षणको केन्द्र महानगरपालिकाभित्र ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थल, स्वयम्भूनाथ र बौद्धनाथ स्तूप, पशुपतिनाथ मन्दिर, सिंहदरबार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, हनुमानढोका र वसन्तपुर दरबार क्षेत्र छन् । कुल ५०।६७ वर्ग किमी क्षेत्रफलको महानगर बौद्ध र हिन्दू धर्मावलम्बीको पावन भूमि हो ।


प्रमुख सत्तारुढ दल नेकपा ९माओवादी केन्द्र० बाट महानगरपालिका प्रमुखको उम्मेदवार सर्वोत्तम डङ्गोल आफू निर्वाचित भए काठमाडौँको वर्तमान धुलो धुवाँयुक्त स्वरुप परिवर्तन गर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “उज्यालो नेपाल अभियानलाई अगाडि बढाउँदै राजधानीमा विद्युतीय ट्रली बस चलाउने, महानगरका सडक खाल्डाखुल्डीरहित बनाउने, महानगरभित्र निर्माण भएका मापदण्ड विपरीतका घरको प्रमाणीकरण गर्ने, अव्यवस्थित सहरीकरण अन्त्य गर्ने र भूउपयोग नीति लागू गर्नेछु ।”


स्वच्छ, सफा र हराभरा राजधानीवासीको चाहना भए पनि अहिले यो धुलो, धुवाँ, फोहर, जाम र अव्यवस्थित सहरीकरणको समस्याले आक्रान्त छ । राजधानी सहर भएर पनि एकातिर फोहर दुर्गन्ध ढल र अर्कोतिर खानेपानीको चरम अभाव छ । मतदाता यो समस्याबाट मुक्ति चाहन्छन् । “नेताका ठूला भाषणभन्दा काठमाडौँमा सहज सवारीसाधनको उपलब्धता, रातभर खुला, उज्यालो र सुरक्षित वातावरण बनाउने उम्मेदवार मेरो रोजाइमा छ,” कलङ्की स्थायी निवासी निनु पोखरेल भन्नुहुन्छ ।


निर्वाचित हुने उम्मेदवारका लागि काठमाडौँका पुराना घना बस्ती तथा साँघुरा सडकलाई आधुनिक रुपमा व्यवस्थापन गर्न कम चुनौतीपूर्ण भने छैन । सीतापाइला निवासी विष्णुमणि शर्मा राजधानी सहरलाई चौडा र हरियाली सडक तथा पूर्वाधार सम्पन्न बनाउने उम्मेदवारलाई मात्र मत दिने बताउनुहुन्छ ।


प्रमुख दलका साथै नगरप्रमुखमा मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक०बाट शिवहरि रिजाल, सङ्घीय समाजवादी फोरम नेपालबाट पवित्र बज्राचार्य, राष्ट्रिय जनमोर्चा नेपालबाट डा निर्मलकुमार थापा, नेपाल मजदुर किसान पार्टीबाट कुलनारायण डङ्गोल र नेकपा संयुक्तबाट वचपनराज श्रेष्ठ उम्मेदवार हुनुहुन्छ ।


त्यस्तै किशोर थापा, विनोदकुमार क्षेत्री, रञ्जु न्यौपाने, सुरेन्द्रप्रसाद ढकाल, अमोट महर्जन, लक्ष्मीप्रसाद भण्डारी, नेत्रबहादुर लिम्बू, पुरुषोत्तम दङ्गाल, भरतबहादुर विसुराल, गोर्कीप्रसाद श्रेष्ठ, ज्ञानुमाया तामाङ, नवराज कार्की, दिनेश शाही, डवबहादुर गर्वुजा पुनमगर र अनिलमान श्रेष्ठले स्वतन्त्रबाट प्रमुखमा उम्मेदवारी दिनुभएको छ ।


उपप्रमुखमा काँग्रेसबाट हरिप्रभा खड्गी, माओवादी केन्द्रबाट सुशीलाकुमारी पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजाराम श्रेष्ठ, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट लक्ष्मी राई, सङ्घीय समाजवादी फोरम नेपालबाट सविना अर्याल र राष्ट्रिय जनमोर्चाबाट क्रृतु सापकोटा केसी उम्मेदवार हुनुहुन्छ । स्वतन्त्रबाट उपप्रमुखमा जनिसा भट्टराई, निरुपमा यादव, पुनम डङ्गोल, सावित्री खरेल र राधिका महर्जन उम्मेदवार रहनुभएको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले जानकारी दिनुभयो ।

राजधानीमा खानेपानीका लागि २० वर्षदेखिको मेलम्चीको सपना अधुरै छ । वाग्मती सफाइ अभियान जारी छ । अर्कोतिर सडक विस्तार गर्दा मुआब्जा नपाएको भन्ने केहीको गुनासो पनि यथावत छ । मतदाताले यी मुद्दा सम्बोधन गर्ने उम्मेदवारको पनि चाहना राखेको देखिन्छ । निर्वाचनको माहोल हेर्दा प्रमुख तीनदलबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ । यद्यपि अन्य दल र स्वतन्त्र उम्मेदवारले पनि बाजी नमार्ला भन्न सकिन्न ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.