जनकपुरधाम। मधेस प्रदेशका १३६ पालिकाको स्वास्थ्य सेवा मूल्याङ्कनमा सर्लाहीको लालबन्दी नगरपालिका प्रथम स्थानमा परेको छ। हरिपुर नगरपालिका द्वितीय र विष्णुपुर गाउँपालिका तृतीय बने।
मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले जनकपुरधाममा सम्पन्न तीनदिवसीय वार्षिक समीक्षा कार्यक्रममा नतिजा सार्वजनिक गरेको हो।
उक्त क्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीनै तहका सरकारबीचको सहकार्य स्वास्थ्य सुधारको पूर्वसर्त भएको उल्लेख गरे ।
साथै उनले उत्कृष्ट र नमुनायोग्य स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने पालिकाहरूले प्रदेशको स्वास्थ्य सूचक उकास्न महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले उत्कृष्ट कार्य गरेका पालिकालाई बधाई दिँदै सम्मानित पनि गरे ।
प्रादेशिक अस्पताल श्रेणीमा गौर अस्पताल प्रथम, जलेश्वर अस्पताल द्वितीय र सिरहा अस्पताल तृतीय भए। स्वास्थ्य कार्यालयतर्फ पर्सा प्रथम, सर्लाही द्वितीय र महोत्तरी तृतीय बने।
आयुर्वेद सेवामा पर्सा प्रथम, बारा द्वितीय र महोत्तरी तृतीय परे। संस्थागत अस्पताल श्रेणीमा बर्दिबास अस्पताल प्रथम रह्यो।
कार्यक्रम स्वास्थ्य निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न भयो।
तपाईको प्रतिक्रिया