वीरगञ्ज । वर्तमान संवैधानिक व्यवस्था, संघीयता, सामाजिक न्याय र मधेसका अधिकारका विषयमा प्रश्न उठाउँदै नौ दलीय अग्रगामी मोर्चाका शीर्ष नेताहरूले राजनीतिक सुधार र अधिकारका लागि साझा अभियान आवश्यक रहेको बताएका छन्।
वीरगञ्जस्थित टाउनहलमा शनिबार आयोजित अग्रगामी मोर्चाको मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्मा, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत,नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, लगायतले सम्बोधन गरेका थिए। कार्यक्रममा विभिन्न जिल्लाबाट आएका नेता तथा कार्यकर्ताको सहभागिता थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवले अहिलेको आठ जिल्लामा सीमित मधेस प्रदेश आफूहरूले खोजेको प्रदेश नभएको बताए।
उनले मधेसमा शासन र प्रशासनमा मधेसी समुदायको पर्याप्त पहुँच स्थापित हुन नसकेको दाबी गर्दै अधिकार प्राप्तिका लागि फेरि संघर्ष गर्नुपर्ने धारणा राखे।
यादवले संघीयताको वास्तविक अर्थ प्रदेशमा आफ्नै शासन–प्रशासन तथा केन्द्रमा हिस्सेदारी सुनिश्चित हुनु रहेको बताए। उनले मधेसका जनताले आफ्नो शासन र प्रशासनका लागि फेरि एकपटक संघर्ष गर्नुपर्ने समय आएको बताएका थिए।
यादवले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूलाई मुलुकको वर्तमान संकटका लागि जिम्मेवार रहेको आरोप लगाउँदै संघीयतालाई संस्थागत गर्ने सवालमा उनीहरूको भूमिकामाथि प्रश्न उठाए।
राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै उनले संघीयताका विषयमा फरक–फरक स्थानमा फरक धारणा राखिएको आरोपसमेत लगाए।
कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै राजनीतिक तथा सामाजिक सुधारका लागि अग्रगामी मोर्चा निर्माण गरिएको बताए।
शर्माले मोर्चा कुनै एउटा निर्वाचनलाई लक्षित गरेर मात्र गठन नभएको बताउँदै देशको राजनीतिक अवस्था सुधार गर्न तथा उत्पीडित र बहिष्करणमा परेका समुदायका अधिकार सुनिश्चित गर्न साझा अभियान आवश्यक रहेको धारणा राखे।
उनले राजनीतिक दल तथा नेतृत्वले विगतका कमजोरीको समीक्षा र आत्मसमीक्षा गर्दै सुधारको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
शर्माका अनुसार अग्रगामी मोर्चाले समानता, स्वतन्त्रता, सुशासन, संघीयता, सामाजिक न्याय, समावेशिता, धर्मनिरपेक्षता तथा आर्थिक विकास र सामाजिक–आर्थिक रूपान्तरणलाई प्राथमिकतामा राखेको छ।
उनले उत्पीडित, सीमान्तकृत तथा बहिष्करणमा परेका समुदायको अधिकार र प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक अभियान आवश्यक रहेको बताएका छन्।
आजपाका अध्यक्ष प्रभू साहले वर्तमान संविधानका व्यवस्थाका कारण मुलुकले अपेक्षित निकास र विकासको बाटो समात्न नसकेको दाबी गरे।
उनले वर्तमान संविधानलाई ‘सपनाको संग्रह’ र ‘झुटा आश्वासनको पुलिन्दा’को संज्ञा दिँदै संविधान निर्माणका क्रममा भएका कमजोरी सच्याउनुपर्ने बताए।
साहले गैरआवासीय नेपाली नागरिकता, तीन तहको संघीय संरचना, समानुपातिक प्रतिनिधित्व, भाषा तथा संस्कृति, मौलिक हकको कार्यान्वयन र राजनीतिक दलको निर्वाचित संस्थामाथिको प्रभावलगायत विषयमा प्रश्न उठाए।
उनले संवैधानिक व्यवस्थामा सुधार नगरी सरकार परिवर्तन मात्र गर्दा मुलुकको अवस्था सुधार हुन नसक्ने धारणा राखे।
संविधान निर्माणका क्रममा भएका निर्णय र त्यसमा संलग्न राजनीतिक नेतृत्वको भूमिकामाथि पुनरावलोकन आवश्यक रहेको बताउँदै साहले संविधान निर्माणका ‘तक्मा’ लिनेहरूलाई समेत दण्डित गर्नुपर्ने धारणा व्यक्त गरे।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अधिकार प्राप्ति तथा प्राप्त उपलब्धिको संरक्षणका लागि अग्रगामी मोर्चा निर्माण भएको बताए।
उनले मोर्चालाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन आबद्ध दल र नेताहरू इमानदारीपूर्वक अघि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी तथा अन्य नेताहरूले पनि संघीयता, पहिचान, समावेशिता र सामाजिक न्यायका विषयमा धारणा राखेका थिए।
अग्रगामी मोर्चामा अहिले जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल आबद्ध छन्।
मोर्चाले मधेसमा संगठन विस्तार, कार्यकर्ता परिचालन तथा आफ्ना राजनीतिक एजेन्डालाई स्थानीय तहसम्म पुर्याउने उद्देश्यले प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गरेको हो वीरगञ्जको कार्यक्रमको अध्यक्षता प्रगतीशिल लोकतान्त्रिक पार्टीका मधेशअध्यक्ष अमिताभ बच्चन दासले गरेका थिए ।
तपाईको प्रतिक्रिया