महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन्।
उनीमाथि सडक ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ७२ हजार रुपैयाँ घुस लिएको अभियोग थियो। अदालतले उनलाई ६ महिना कैद, बिगो बराबरको जरीविना तोकेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले यादवलाई ७२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो। अख्तियारको टोलीले उनलाई महोत्तरीको औरही सडकबाट नियन्त्रणमा लिएको थियो।
घुस रकमसहित पक्राउ परेका यादवविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेकोमा विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो।
गोलबजार नगरपालिका–१२, सिमरा घर भएका यादव कल्याणपुर नगरपालिकाबाट सरुवा भएर महोत्तरीको सोनमा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पुगेका थिए । त्यहाँ पुगेको केही दिनमै उनी घुस रकमसहित पक्राउ परेका थिए ।
तपाईको प्रतिक्रिया