सीमरा। प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका–५ स्थित भित्री सडकखण्डबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार असोज १६ गते बिहान ९ बजे इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा सडकखण्डमा बीआर ३४ एजे ४७४९ नम्बरको कार रोकी जाँच गरेको थियो।
जाँचका क्रममा कारभित्र रहेको रातो रंगको प्लास्टिकले बेरी लुकाएर ल्याइएको अवस्थामा १५५ किलो ६३५ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
गाँजासहित प्रहरीले मकवानपुर राक्सिराङ गाउँपालिका–१ का २८ वर्षीय अम्बिर डिङ्डुङलाई पक्राउ गरेको छ।
पक्राउ परेका डिङ्डुङ र बरामद गाँजा तथा कारलाई इलाका प्रहरी कार्यालय सिमरा, बाराको नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
तपाईको प्रतिक्रिया