काठमाडौँ । बाराको फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार संयोजकका बिरुद्ध बिशेष अदालत काठमाण्डौमा मुद्धा दायर भएको छ ।
रोजगार संयोजकका रूपमा कार्यरत ओमप्रकाश गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदमा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगका अनुसार गिरीले नियुक्तिका क्रममा पेस गरेका प्रमाणपत्र तह र स्नातक तहका शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठाउँदै उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा उनले पेस गरेको तीन वर्षे बीएड तहको लब्धाङ्कपत्र त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरण गराउँदा उक्त प्रमाणपत्र गिरीको नभई अन्य व्यक्तिको रहेको पुष्टि भएको आयोगले जनाएको छ।
गिरीले २०७८ जेठ १ गतेदेखि फेटा गाउँपालिकामा नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृतसरहको रोजगार संयोजक पदमा नियुक्ति पाएका थिए।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार झुट्टा शैक्षिक प्रमाणपत्रका आधारमा राष्ट्रसेवकको पद तथा ओहदा प्राप्त गरेको देखिएकाले गिरीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कारबाहीको माग गरिएको छ।
सोही कसुरमा कैद तथा जरिवाना हुनुपर्ने मागदाबीसहित आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया