वीरगञ्ज । जेनजी आन्दोलनका क्रममा वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
पर्सा प्रहरीले विशेष सूचनाका आधारमा खोजतलास गर्ने क्रममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ स्थित कालिका मन्दिर निवासी २२ वर्षीय परिवर्तित नाम ‘वीरेन्द्रनगर (एल) लाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले उनलाई कात्तिक ३० गते बिहान करिब ९ः३० बजे वीरगञ्ज महानगरपालिका–४ स्थित मालपोत चोकबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका युवकलाई सुर्खेत जिल्ला अदालतले अप्राकृतिक मैथुन मुद्दामा तथा बाँके जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै १२ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
अदालतको फैसलाअनुसार कैद भुक्तान गरिरहेका उनी ०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार भएका थिए।
लामो समयदेखि फरार रहेका उनलाई प्रहरीले पुनः नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया