काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक बनेको एक शिक्षक बिरुद्ध बिशेष अदालतमा मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
बारा जिल्लाको साविक मझरिया गाविस ६ हाल सुवर्ण गाउँपालिका, वडा नं. ६ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मझरिया, बारामा कार्यरत शिक्षक धर्मेन्द्र प्रसाद यादव बिरुद्ध मुद्धा दर्ता भएको आयोगले जनाएको छ ।
उनले शिक्षण पेसामा प्रवेश गर्दा पेस गरेको आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान भएको थियो ।
अनुसन्धान हुँदा यादवले बिहार स्कूल इक्जामिनेशन बोर्ड बाट जारी भएको देखिने इन्टरमिडिएट तह आई.ए. तहको झुट्टा तथा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरू पेस गरी अभिलेखमा राखी राष्ट्रसेवकको रूपमा प्राथमिक तहको शिक्षक पदमा कार्यरत रही पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको पुष्टि भएको आयोगले जनाएको छ ।
यसरी झुट्टा प्रमाणपत्र प्रयोग गरी लाभ लिएको पुष्टि भएपछि यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई शुक्रवार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
तपाईको प्रतिक्रिया