लालबन्दी । सर्लाहीको हरिपुर्वामा सुतिरहेका वृद्ध दम्पतीमाथि इँटाको टुक्रा प्रहार गरी गम्भीर घाइते बनाएको घटनामा एक वृद्धको ज्यान गएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १९ वर्षीय एक युवकलाई पक्राउ गरेको छ।
मृत्यु हुनेमा हरिपुर्वा नगरपालिका–९, बसन्तपुरका करिब ७४ वर्षीय सुकदेव साह तेली (वासुदेव साह) रहेका छन्। गत कार्तिक २८ गते बिहान उनी र उनकी ७३ वर्षीया श्रीमती जिवछी देवी आफ्नै घरभित्र टाउको तथा अनुहारमा गम्भीर चोट लागेको अवस्थामा फेला परेका थिए।
घरमा सञ्चालन गरिएको सानो किराना पसलसमेत रहेको वृद्ध दम्पती बिहान अबेरसम्म नउठेपछि जेठा छोरा घर पुगेका थिए। ढोका खोलेर हेर्दा दुवै जना रगताम्य अवस्थामा देखिएपछि उनले तत्काल प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले घाइते दम्पतीलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याएको थियो। उपचारकै क्रममा मंसिर ३ गते सुकदेवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीको अनुसन्धानअनुसार कार्तिक २७ गते राति करिब १० बजे हरिपुर्वा–९ कै अन्दाजी १९ वर्षीय शंकर कुमार यादव घरभित्र प्रवेश गरेका थिए।
दम्पती सुतिरहेको मौका छोपेर उनले इँटाको टुक्राले दुवैको टाउको र अनुहारमा पटक–पटक प्रहार गरी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले कार्तिक २८ गते नै यादवलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार यादव गाँजा सेवन गर्ने गरेका थिए।
मृतक र आरोपितबीच गाँजाको किनबेचका विषयमा विवाद भएको र त्यही रिसइबीका कारण घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
घटना हुँदा ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो। तर घाइते वृद्धको उपचारका क्रममा मृत्यु भएपछि आरोपितविरुद्ध ज्यान मार्ने उद्योग तथा ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारीका अनुसार घटनाबारे थप अनुसन्धान इलाका प्रहरी कार्यालय केशरगञ्जमार्फत भइरहेको छ।
तपाईको प्रतिक्रिया