वीरगंज । पर्सा प्रहरीले २२ केजी चरेशसहित दुई जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा बिहीबार बिहान करिब ६ बजे नेपालबाट भारततर्फ लैजान लागिएको अवस्थामा चरेश बरामद गरिएको हो।
बिन्दवासिनी गाउँपालिका–२ को गर्दौल चोकबाट पोखरियातर्फ जाने वीरगञ्ज सडक खण्डमा शंकास्पद रूपमा हिँडिरहेका दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएपछि उनीहरूबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको इलाका प्रहरी कार्यालय पोखरिया तथा अस्थायी प्रहरी पोष्ट बहुअर्भाठाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरूले बोकेको दुई थान कालो झोलाभित्र लुकाइछिपाई राखिएको लागुऔषध फेला पारेको हो।
प्रहरीका अनुसार झोलाभित्र रहेका १०–१० लिटर क्षमताका पानी खाने ग्यालेन खोल्दा ग्यालेनको मुखमा थोरै मात्र घिउ राखिएको र त्यसको मुनि चरेशजस्तो देखिने कालो पदार्थ लुकाइएको अवस्थामा फेला परेको थियो।
पक्राउ परेका वीरगञ्ज महानगरपालिका–१५ का रैयस अलीको साथबाट १० केजी ६०० ग्राम चरेश र १ हजार ५ सय ५० नगद बरामद गरिएको छ।
त्यस्तै पोखरिया नगरपालिका–जगतपुरका मुनिलाल पटेलको साथबाट ११ केजी ४०० ग्राम चरेश र २ हजार ९ सय नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
चरेशसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी लागुऔषधसम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
तपाईको प्रतिक्रिया