काठमाडौं । बहुविवाहको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका डिएसपी मधु नेपाल पुर्पक्षका लागि कारागार चलान भएका छन्।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश चाणकमणि अर्यालको इजलासले शुक्रबार उनलाई थुनामा राख्न आदेश दिएको हो।
उनकी कान्छी श्रीमती तथा असई गीता पुरी भने ३० हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन्।
जेठी श्रीमती तारा खनालको जाहेरीका आधारमा डिएसपी नेपाल तीन साताअघि पक्राउ परेका थिए। उनी जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत थिए।
बिहीबार मुद्दा दायर भएपछि शुक्रबार बयान र थुनछेक गरिएको थियो। बयानका क्रममा डिएसपी नेपालले भने जेठी श्रीमतीकै सल्लाहमा सन्तानका लागि दोस्रो विवाह गरेको दाबी गरेका छन्।
यसअघि पनि डिएसपी नेपाल २०७४ सालमा निलम्बनमा परेका थिए। बुटवलस्थित वडा प्रहरी कार्यालय रामनगरमा प्रहरी निरीक्षक पदमा कार्यरत रहँदा गाँजाको कारोबारसम्बन्धी आर्थिक लेनदेनको विवादमा मुछिएपछि उनी निलम्बनमा परेका थिए।
प्रहरी निरीक्षक पदमै निलम्बनमा परेपछि उनी प्रहरी नायब उपरीक्षकको तत्कालीन बढुवा सूचीबाट समेत वञ्चित भएका थिए।
तपाईको प्रतिक्रिया