वीरगञ्ज । पर्सा प्रहरीले लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा शुक्रवार दिउँसो करिब २ बजे वीरगञ्ज महानगरपालिका–१५ प्रतिमा चोकस्थित सडकखण्डमा गरिएको जाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी बसपार्क तथा लागुऔषध नियन्त्रण ब्युरो वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रूपमा हिँडिरहेका चार जनालाई रोकी शरीर तलासी गर्दा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।
तलासीका क्रममा वीरगञ्ज महानगरपालिका–१९ बिन्दवासिनी बस्ने करिब ३० वर्षीय शम्भु राउत कम्करले लगाएको जिन्स पाइन्टको दाहिने खल्तीमा कागजले बेरिएको प्लास्टिकसहित ४५ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो।
बरामद लागुऔषधसहित चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–१९ बिन्दवासिनी बस्ने करिब ३० वर्षीय शम्भु राउत कम्कर, वीरगञ्ज महानगरपालिका–१६ बस्ने करिब १९ वर्षीय चन्दन कुमार पण्डित, पर्सा बहुदरमाई नगरपालिका–१ बस्ने करिब ४० वर्षीय राज किशोर मिश्र तथा भारत बिहार राज्य मोतिहारी जिल्ला छटौनी थाना वडा नं. ६ बस्ने करिब २७ वर्षीय सचिन सिंह रहेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया