वीरगन्ज । पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले जिम्मेवारी सम्हालेको एक महिनामै जिल्लामा अपराध नियन्त्रणदेखि अवैध गतिविधि रोकथामसम्म उल्लेखनीय प्रगति भएको पर्सा प्रहरीले जनाएको छ।
कार्तिक ७ गतेदेखि मंसिर ७ गतेसम्मको गतिविधि समेटिएको एक महिनाको कार्यसम्पादन प्रतिवेदन जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार फरार प्रतिवादी नियन्त्रण, भन्सार छली तथा चोरी पैठारी रोकथाम, लागुऔषध नियन्त्रण, काठ तस्करी नियन्त्रणदेखि समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउँदै समग्र सुरक्षा गतिविधि तीव्र पारिएको छ।
फरार १८४ प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा फरार रहेका १८४ जना प्रतिवादी पक्राउ परेका छन्। उनीहरूले तिर्नुपर्ने ६ लाख २ हजार ३१९ रुपैयाँ जरिवाना असुल गरिएको छ भने १८ वर्ष १ महिनाको कैद सजाय पनि कार्यान्वयन गरिएको प्रहरीको भनाइ छ। फरार प्रतिवादी नियन्त्रण अभियान निरन्तर जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।
भन्सार छली र अवैध पैठारीमा कडाइ
एक महिनामा खाद्यान्न, कपडा लगायतका भन्सार छली गरी ल्याइएका ३ करोड ७५ लाख ५० हजार ५५६ रुपैयाँ बराबरका सामग्री बरामद गरिएको छ। सीमाक्षेत्रमा निगरानी कडाइ गर्दै चोरी पैठारी नियन्त्रणका लागि सशक्त अभियान सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण २७.४ किलो गाँजा बरामद, ४ पक्राउ
लागुऔषध नियन्त्रण अभियानमा प्रहरीले २७ किलो ४८० ग्राम गाँजा सहित चार जनालाई पक्राउ गरेको छ। सीमाक्षेत्रमा लागुऔषध ओसारपसार रोकथामका लागि विशेष सुराकी तथा निगरानी थप सुदृढ गरिएको बताइएको छ।
अवैध मदिरा, काठ तस्करी र नदीजन्य पदार्थमा कडाइ
पर्सा प्रहरीले ५०० लिटर घरेलु मदिरा नष्ट गरेको छ।
अवैध रूपमा बालुवा उत्खननमा प्रयोग भएका पाँचवटा ट्र्याक्टर नियन्त्रणमा लिइएका छन्।
त्यसैगरी, वन अपराध नियन्त्रण अभियान अन्तर्गत अवैध रूपमा काटिएको ६१।५ क्युबिक फिट सालको काठ बरामद गरिएको छ, जसको मूल्य करिब २ लाख ६६ हजार रुपैयाँ पर्ने बताइएको छ।
हराइएका महिला–बालबालिकाको उद्धार
एक महिनामा हराइएका नौ जनामध्ये दुई महिला र सात बालिकालाई फेला पारी अभिभावकको जिम्मामा बुझाइएको छ। साथै थप दुई बालिकाको उद्धार गरी संरक्षणमा लिइएको प्रहरीले जनाएको छ।
पर्सा प्रहरीले आगामी दिनमा अपराध नियन्त्रण तथा जनसुरक्षाका कार्यक्रम अझ प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गरेको छ।
तपाईको प्रतिक्रिया